पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन प्रस्ताव गरिएको छ । काठमाडौं सोल्टी होटलमा भएको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा पोखरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र बनाउन माग गरिएको छ । यस परियोजनाको लागि ३ अर्व ७२ करोड लागत अनुमान गरिएको छ ।
तेस्रो लगानी सम्मेलनमा विभिन्न २० आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिएको छ । प्रस्तावित यस परियोजनामा पाँचतारे होटल, रेस्टुरेन्ट, म्युजियम र बाल उद्यान सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
५ सय जना अटाउन सक्ने एम्फीथिएटर, २ प्रदर्शनी हल, दुई सय कोठा भएको पाँचतारे होटल, रेस्टुरेन्ट र फुडकोर्ट, संग्रहालय र स्मारिका कोठा, बाल उद्यान, तीन हजार मानिस अटाउने सम्मेलन हल, वनभोज क्षेत्र रहने प्रस्ताव राखिएको हो ।
लगानी बोर्डका अनुसार अत्याधुनिक सेवा सुविधा दिन सकिने, संग्रहालय र सांस्कृतिक आकर्षण, मनोरञ्जनका क्षेत्र, अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलोमिटरको दूरीमा रहेको, पर्यावरण अनुकूल डिजाइन र सञ्चालन नै परियोजनाका मुख्य विशेषता रहेका छन् ।