अन्नपूर्ण संरक्षण क्षेत्रमा दश महिनामा करिव दुई लाख पर्यटक

Share this post :

Facebook
Twitter
WhatsApp

पदयात्राका लागि अन्नपूर्ण क्षेत्र निकै प्रचलित गन्तव्य हो । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, विविध संस्कृतिले भरिपूर्ण भएकाले आन्तरिक तथा बाह्रय पर्यटकका लागि यो पदयात्रा पहिलो रोजाईमा पर्दछ ।
सुरक्षितसंगै पर्यटकीय राजधानीबाट पनि सहज अर्थात् छोटो दुरीमा रहेको यो पदयात्राले जोकोहीलाई आकर्षित बनाएको हुन्छ । यस क्षेत्रमा असोज–कात्तिक र चैत–वैशाख पदयात्राका लागि उत्तम मानिन्छ । मुक्तिनाथ लगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सतहमार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् ।

७ हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गएको १० महिनामा करिव दुई लाख पर्यटक पुगेका छन् । एक्यापको तथ्यांक अनुसार एक लाख ७७ हजार एक सय ८२ पर्यटक पुगेका हुन् । तथ्यांकले गत चैतमा सवैभन्दा धेरै ३५ हजार दुर्इृ सय ६५ पर्यटक आएको देखाउँदछ ।

आयोजना प्रमुख रविन कडरियाका अनुसार दक्षिण एसियाली मुलुकका ७९ हजार दुई सय ३२ र अन्य मुलुकका ९७ हजार नौ सय ५० पर्यटकले सो क्षेत्र घुमे ।
एक्यापले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र अभिलेख राख्ने गरेको छ । सतहमार्ग भएर मुस्ताङ र मुस्ताङलगायत अन्य स्थानबाट आउने आन्तरिक पर्यटकको संख्याको भने तथ्यांक भेटिदैन् ।

अन्नपूर्ण चक्रीय पदमार्गकम सन् २०२३ मा एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । यो हालसम्मकै बढी हो । सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले यो क्षेत्रको भ्रमण थिए ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिल लगायत पर्यटकीय गन्तव्यमा पुग्न सकिन्छ ।

हिमशृङ्खलासहितका आकर्षकस्थल, पर्यटनमैत्री पूर्वाधार, अनुकूल हावापानी, स्थानीयवासीको अतिथि सत्कार र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग विश्वका उत्कृष्ट गन्तव्यमध्येको एक रहेको पर्यटन व्यवसायी इन्द्र भण्डारी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *