दोस्रो पटक मुख्यमन्त्री बन्दै सुरेन्द्रराज पाण्डे

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाली काँग्रेस गण्डकी प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे दाेस्राेपटक मुख्यमन्त्री बन्न लागेका छन् । सर्वाेच्च अदालतले उनलाई संसदकाे सबैभन्दा ठूलाे दलकाे हैसियतमा मुख्यमन्त्री बन्न परमादेश जारी गरेकाे छ ।

न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले सोमबार सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै मुख्यमन्त्रीमा उनको नियुक्तिलाई सर्वोच्चले बदर गरिदिएको हो ।

४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न गण्डकी प्रदेश प्रमुखका नाममा सर्वोच्चले परमादेशको आदेश जारी गरेको हो । मंगलबार सार्वजनिक बिदा भएकाले अदालतको पत्र प्रदेश प्रमुख कार्यालयमा पुगेको छैन ।

निर्वाचनपछि गण्डकीमा चाैथाे सरकार बन्दै छ । पाण्डे यसअघि २०८० वैशाख १५ मा मुख्यमन्त्री बनेका थिए । त्यसपछि खगराज मुख्यमन्त्री बने । सर्वाेच्चकाे आदेश अनुसार आज पाण्डे पुन: दाेस्राेपटक मुख्यमन्त्री बन्ने छन् । पाण्डे मुख्यमन्त्री बने पनि गण्डकी सरकार स्थिर बन्ने अवस्था भने छैन । गण्डकीमा २७ सिटले कांग्रेस सबैभन्दा ठूलो दल हो ।

२२ सीटले एमाले दाेस्राे ठूलाे दल हाे भने, सभामुखसहित ८ सीटले माओवादी तेेस्राे दलकाेरूपमा छ । राप्रपाकाे २ सीट रहेकाे प्रदेश सभामा १ स्वतन्त्र सांसद पनि छन् । ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ३१ सांसदकाे आवश्यकता पर्दछ ।

एमाले नेतृत्वकाे सरकारमा सहभागी स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसदले समर्थन गरे पनि पाण्डेको पक्षमा ३० मत मात्र जुट्छ । पाण्डेले ३० दिनभित्र अर्थात् आगामी असार १३ भित्रै विश्वासको मत लिनै पर्छ । ३१ सांसद जुटाउन उनलाई हम्मेहम्मे छ । आजै बन्ने नयाँ सरकारलाई आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम र बजेट ल्याउनैपर्ने बाध्यता छ । पाण्डे सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित हुने अवस्था छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *