गण्डकी प्रदेश सरकार मातहतका यातायात कार्यालयमा अनलाइन सेवा विस्तार गरिएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सवारी दर्ता र नामसारीसम्बन्धी अनलाईन सेवा विस्तार गरेको हो ।
यसअघि कास्कीस्थित यातायात व्यवस्था कार्यालय सवारीमा सुरु भएको सवारी साधनको दर्ता र नवीकरण गर्न प्रयोग गरिने अनलाईन (ईभिआरएस) सेवा पछिल्लोपटक बागलुङ, नवलपुर र डुम्रेमा रहेको कार्यालयमा पनि विस्तार गरिएको छ ।
गण्डकी प्रदेशमा रहेका सबै यातायात कार्यालयबाट सेवाग्राहीले अनलाईनमार्फत नयाँ सवारीसाधन दर्ता र नवीकरणको आवेदन दिन पाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । अनलाइन सेवा सुरु भएपछि सेवाग्राहीलाई सवारीसाधन नामसरी र नवीकरणको काममा सहज हुनेछ । सवारी जाँचपाँस र रुट इजाजतबाहेकका सेवा अनलाइनमार्फत दिन थालिएको हो ।
यसैगरी बागलुङ, नवलपुर र डुम्रेको यातायात कार्यालयमा रहेका सवारी साधनको अभिलेख र सबै कागजातसहितको विवरण स्क्यान गरेर सफ्टवेयरमा प्रविष्ट गराउन थालिएको छ । बागलुङ र नवलपुरमा थप जनशक्तिमार्फत डिजिटलाईजेशनको काम भइरहेको छ । डुम्रेमा दर्ता भएका सवारीसाधनको सङ्ख्या कम भएकाले कार्यालयकै जनशक्तिमार्फत काम भइरहेको मन्त्रालयले जनाएको छ । बागलुङमा ३० हजार र नवरपुरमा १५ हजार बढी सवारीसाधन दर्ता छन् ।
यसअघि यातायात व्यवस्था कार्यालय कास्की (सवारी)मा दर्ता भएका ३० लाख सवारी साधनको ७३ लाख चित्रलाई स्यान गरेर ‘ट्रान्सपोर्ट म्यानेजमेन्ट’ सफ्टवेयरमा राखिसकिएको छ । सबै विवरण सफ्टवेयरमा हेर्न पाउने भएपछि सेवाग्राही घण्टौ ंलाइन बस्नुपने समस्या हटेको, फाइल र ढड्डा खोज्दा हुने समयको बचत, जनशक्तिलाई कामको भार कम पर्ने र कार्यालय व्यवस्थित बनेको यातायात व्यवस्था कार्यालय कास्कीले जनाएको छ ।