संवैधानिक व्यवस्था अनुसार स्थानीय सरकारले असार १० गते आगामी आर्थिक वर्षको बजेट सार्वजानिक गर्नुपर्छ । सोही व्यवस्था अनुसार आगामी आर्थिक वर्ष २०८१ र ८२ का लागि स्थानीय तहले सोमबार बजेट सार्वजनिक गर्दैछन् । ७ सय ५३ पालिकामध्ये केहीले यसअघि नै बजेट सार्वजनिक गरिसके पनि अधिकांश स्थानीय पालिकाले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ ।
आइतबारसम्म ३८ वटा स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोशी प्रदेशका २, मधेस प्रदेश ६, बागमतीका ६, गण्डकी प्रदेशका १४, लुम्बिनीका ३, सुदूरपश्चिम प्रदेशका तीन तथा कर्णालीका प्रदेशको एउटा स्थानीय तहले बजेट पेस गरेका छन् । आज बाँकी सात सय १५ स्थानीय तहले बजेट पेस गर्नुपर्ने हुन्छ । बजेट असार मसान्तसम्म पास गर्नुपर्ने हुन्छ ।