महिला मात्रै शेयर सदस्य रहेको पोखरा महानगरपालिका–१४ को एक सहकारीले व्यवसायिक दुध उत्पादनमा लगानी विस्तारको आयोजनालाई अन्तिम रुप दिएको छ । महिला बहुउद्देश्यीय सहकारी संस्थाले दुध उत्पादन योजना विस्तार गर्न लागेको हो ।
पोखरा–१४ मै करिब १० रोपनी जग्गा भाडामा लिएर सहकारीले २० वटा भैंसी र ५ वटा गाई पाल्न लागेको सहकारीका अध्यक्ष सविना अधिकारी क्षेत्रीले जानकारी दिईन् । उनका अनुसार सञ्चालन गर्न लागिएको दुध उत्पादन योजनामा १ करोड लगानी लाग्नेछ ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजनाको स्वञ्छ दुध उत्पादनको लागि व्यवसायिक गाईभैंसी पालन उपआयोजनाको ५० प्रतिशत अनुदान सहयोगमा यो कार्यक्रम हुन लागेको सहकारीका व्यवस्थापन धर्मराज केसीले जानकारी दिए ।
यो उप आयोजना अन्तरगत सहकारीले २५ जना व्यवसायिक कृषक शेयर सदस्यबाट ५० लाख र आयोजनाबाट ५० लाख रुपैंया संकलन गरेर दुध उत्पादन गर्न लागिएको हो । पोखरा–१४ कै कदम मार्गमा १० वर्षका लागि १० रोपनी जग्गा भाडामा लिएर दुध उत्पादन गरिने सहकारीकी सचिव ईन्दु अधिकारीले जानकारी दिईन् ।
सहकारीले वार्षिक ७२ हजार २ सय लिटर दुध उत्पादन गर्ने लक्ष्य लिएको छ । जसबाट ५४ लाख १५ हजार रुपैंया आम्दानी हुने अनुमान गरिएको छ । यसैगरी ४० हजार केजी कम्पोष्ट बल विक्रिबाट २० हजार, बाच्छाबाच्छी बचेर २० हजार र पाडापाडी बेचेर १ लाख ५४ हजार रुपैंया आम्दानी हुने अनुमान सहकारीको छ ।
उक्त जग्गामा गाईभैंसी पालनसँगै घाँस उत्पादन र ताजा तरकारी पनि उत्पादन गर्ने लक्ष्य लिईएको अध्यक्ष अधिकारीले बताईन् । सहकारीबाट सञ्चालित फर्मबाट ६ जनाले प्रत्पक्ष रोजगारी पाउनेछन् भने, ३५ जनाले प्रत्यक्ष र ५ सय ७५ जनाले अप्रत्यक्ष लाभ लिनेछन् । सहकारीबाट उत्पादित दुध जिल्ला सहकारी संघ कास्कीले खरिद गर्ने भएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका महासचिव दीपक बाँस्तोलाले सहकारीले दुध खरिद गरि किसान र किसान समुहको दुध नबिक्ने चिन्ताको अन्त्य गरिदिएको बताए । उनले नेपाली किसानले भोग्दै आएको मिल्क होलिडेको अन्त्य गर्न जिल्ला सहकारी संघ सदैव लाग्ने बताए ।
मन्त्रालयको यो आयोजना नेपालका ३५ जिल्लाका १ सय ७१ पालिकामा सञ्चालित छ । कास्कीको पोखरा महानगरपालिका, मादी र रुपा गाउँपालिकामा यो आयोजना सञ्चालन भएको स्टार्टअप अनुदान सञ्चालन म्यानुअलमा उल्लेख छ । एसियन विकास बैंकको करिब १४ अर्ब २३ करोड ऋणमा यो योजना सञ्चालन भईरहेको छ ।