१४ जिल्ला ‘अति जोखिम’

Share this post :

Facebook
Twitter
WhatsApp

स्कुल नपठाउन स्वास्थ्य मन्त्रालयले गर्‍यो अपिल

प्रतिपत्र संवाददाता (काठमाण्डौ)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट अति प्रभावित जिल्लामा संक्रमण विस्तार हुने गतिविधि अविलम्ब बन्द गर्नुपर्ने अवस्था आएको जनाउँदै तोकिएका क्षेत्रमा सहभागी नहुन अपिल गरेको छ । बिहीबार ‘अत्यन्त जरुरी अपिल’ सार्वजनिक गर्दै मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ । ती जिल्लामा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरू अविलम्ब बन्द गर्नुपर्ने भए पनि विद्यालय, सभा, सम्मेलन, बैठक तथा भेलाहरूमा सहभागी नहुन मन्त्रालयले अपिल गरेको हो । खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सिनेमाहल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल, रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबमा सहभागी नहुन पनि मन्त्रालयले आग्रह गरेको छ ।

बालबालिकामा संक्रमण बढ्दै गए पनि सरकारले विद्यालय बन्द गर्ने निर्णय नगरेपछि यस्तो अपिल गर्नुपरेको स्रोतले जनाएको छ । ‘मन्त्रिपरिषद्ले कोभिड विस्तारमा सघाउने गतिविधिमा रोक नलगाएपछि बाध्य भएर सचिवस्तरीय निर्णय गरी अपिल गरेका हौं,’ स्रोतले भन्यो । मन्त्रालयले पहिलेको दाँजोमा मृत्युदर बढी भएको, समुदायमा कोरोना फैलिरहेको स्पष्ट पार्दै संक्रमण विस्तार रोक्ने गरी पाइला चाल्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

‘सरकारले अझै कडा पाइला नचालेपछि बाध्य भएर संक्रमण विस्तारको गतिविधिमा सरिक नहुन आम व्यक्तिलाई अपिल गरिएको हो,’ उच्च स्रोतले भन्यो, ‘हाल स्वास्थ्यबाहेक अन्य क्षेत्र संवेदनशील देखिएका छैनन् । सार्वजनिक गतिविधि बन्द नै गर्नुपर्ने अवस्था आएको छ । तर मन्त्रालय यस्ता गतिविधिमा सरिक नहुन अपिल मात्र गर्न सक्ने हैसियत राख्छ ।’ स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीका अनुसार मुलुकमा हाल संक्रमणको स्थिति अत्यन्त जटिल छ । संक्रमितहरू ढिलो अस्पताल आइरहेका छन् । अस्पताल आउनासाथ मृत्यु हुनेको संख्या बढ्दो छ । कोभिडका बिरामी भरिएर अस्पतालमा शय्या नपाउने अवस्था सुरु भइसकेको छ । ‘अहिलेको ठुलो चुनौती आम व्यक्ति संवेदनशील नदेखिनु हो,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘अझ सरकारी संयन्त्रका निकायले समेत सबै जिम्मेवारी हाम्रै थाप्लोमा राख्ने गरेका छन् ।’

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी अपिलमा अति प्रभावित जिल्लामा जनस्वास्थ्यका मापदण्डको कडाइसाथ पालन गर्न पनि आग्रह गरिएको छ । सबै अस्पतालमा अनिवार्य ज्वरो क्लिनिक सञ्चालन, कोभिड परीक्षणका लागि नमुना संकलन तथा परीक्षणको व्यवस्था गर्नसमेत मन्त्रालयले भनेको छ । विभिन्न होटलमा आएर बस्ने विदेशी नागरिकलाई गेस्ट रजिस्ट्रेसन सिस्टम चुस्त बनाउनुका साथै पीसीआर निगेटिभ आए मात्र राख्न पनि मन्त्रालयले अपिल गरेको छ । नियमित रूपमा स्वास्थ्य सेवा लिन अस्पताल आइरहेका सेवाग्राहीलाई कोभिड पुष्टि भएको आधारमा मात्रै अन्य अस्पताल पठाउन र अनावश्यक दुःख नदिन अपिलमा भनिएको छ ।

यस्तै, सबै सरकारी अस्पतालमा न्यूनतम ५० प्रतिशत शय्या कोभिड संक्रमितका लागि छुट्याएर तोकिएअनुसार निःशुल्क सेवा दिन पनि मन्त्रालयले निर्देश गरेको छ । निजी प्रयोगशाला र अस्पतालले कोभिड परीक्षण तथा उपचार तोकिएको शुल्कमा गर्नुपर्ने उल्लेख गर्दै मन्त्रालयले पीसीआर परीक्षणका लागि अधिकतम दुई हजार, संक्रमितको औषधिबाहेक उपचारमा जटिलताका आधारमा दैनिक सामान्यलाई ३५ सय, मध्यमलाई ७ हजार र जटिललाई १५ हजारमा ५० थप प्रतिशत नबढ्ने गरी उपचार व्यवस्था मिलाउन आग्रह गरेको छ । बालबालिका, गर्भवती, सुत्केरी, अपांग, ज्येष्ठ नागरिकलाई कोभिड परीक्षण र उपचारमा उच्च प्राथमिकता दिनसमेत स्वास्थ्य मन्त्रालयले अपिल गरेको हो ।

मंगलबारदेखि खोपको दोस्रो डोज

स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड–१९ विरुद्घको प्रथम चरणमा पहिलो र दोस्रो प्राथमिकताका लक्षित समूहलाई वैशाख ७ गतेदेखि दोस्रो मात्रा खोप दिने जनाएको छ । उनीहरूलाई उपत्यकामा भएका १९ वटा स्वास्थ्य संस्थामार्फत खोप लगाइनेछ ।

यसअन्तर्गत वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, नेपाल सशस्त्र प्रहरी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, वीरेन्द्र अस्पताल, नेपाल प्रहरी अस्पताल, नेपाल मेडिकल कलेज, जनमैत्री अस्पताल, मदरल्यान्ड हस्पिटल, हिमाल अस्पताल, स्तूपा अस्पताल र ह्याम्स अस्पतालमा गएर खोप लगाउन सकिन्छ ।

प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार गएको माघ १४, १५, १६, १७ र २६, २७, २८, २९ गते खोप लगाएकाले दोस्रो डोज वैशाख ७ गते बिहान १० बजेदेखि ४ बजेभित्र लिन सक्नेछन् । माघ १८, १९, २०, २१, २२ र फागुन २ गते खोप लगाएकाले वैशाख ८ गते, माघ २३ र फागुन ३, ४, ५ गते लगाएकाले वैशाख ९ गते, माघ २४ र फागुन ६, ८, ९ गते लगाएकाले वैशाख १० गते र माघ ३० र फागुन ७, १० गते खोप लगाएकाले वैशाख ११ गते खोप लगाउन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *