जिल्ला अदालत कास्कीबाट विभिन्न मुद्दामा अयिभुक्त ठहर भई फरार रहेका १२९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेका प्रहरी कार्यालयले असार महिनासम्म १२९ प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका प्रतिवादीलाई कैद सजाय तथा जरिवाना भुक्तानीको लागि जिल्ला अदालत हाजिर गराइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बसन्त शर्माले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका प्रतिवादीबाट ७ वर्ष १ दिन कैद सजाय भुक्तान हुनेछ भने, २ करोड ९० लाख ३ हजार ७ सय ८३ रुपैयाँ राजश्व उठ्ने छ ।
जिल्ला प्रहरीले दिएको तथ्यांक अनुसार चेक अनादार मुद्दाका ३३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । यस्तै, बैंकिङ कसूरमा ६ जना, वन पैदावार (काठ)को अनियमित निकासीमा २ जना, घरेलु हिसामा १, विगो मुद्दाका ५, सवारी ज्यान मुद्दाको १, नकवजनी चोरीमा ६, अभद्र व्यवहारमा ४, लागूऔषधमा ५, साधरण चोरीमा २, केही सार्वजानिक अपराधमा १३ जना पक्राउ परेका छन् ।
यसैगरी, जुवातासमा ९, ज्यान मार्ने उद्योगमा १, पशुपंक्षी सम्बन्धी कसुरमा ६, सम्बन्ध विच्छेदमा १८, नाता कायममा ५, झुट्टा वखपत्र गरेकोमा २, कुटपिटमा १ र लेखदेन मुद्दामा ४ जना पक्राउ परेका छन् ।