बालिका बेचविखन मुद्दामा चिनियाँ नागरिकसहित तीन पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

१४ वर्षिया बालिका बेचविखन गरेको आरोपमा कास्की प्रहरीले चाईनिज नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाइनाको हुनान प्राप्त स्थायी ठेगाना भई पोखरा महानगरपालिका–६ लेकसाइड खहरेस्थित पारामाउन्ट गेष्ट हाउसमा बस्ने ३१ वर्षिय ZHI MING CHEN, पोखरा–१६ संगमटोलकी २२ वर्षिया सरु विक र पोखरा–२२ आर्वाकी ३४ वर्षिया भगवती अधिकारी रहेका छन् । EM4754513 पासपोर्ट नम्बर भएका ZHI MING CHEN १० दिनको भिजिट भिषामा नेपाल आएका हुन् ।
सरु र भगवतीले बालिकालाई विना जानकारी ‘तिमी दुःख पाउने केटी रहेछौ, हामीले चाईनिज नागरिक चिनेका छौ । तिमी उसंग विवाह गर्यौ भने तिम्रो भविष्य बन्छ’ भनि फकाईफुलाई विश्वास दिलाएर साउन १३ गते विवाह गराएका थिए । विवाह गराएबापत ती महिलाले चाइनिज नागरिकसंग आर्थिक लाभसमेत लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले बताए ।
‘विवाह गरेपछि लेकसाईडको स्ट्रिट नम्बर ५ मा रहेको होटल मिराकलमा बन्धक बनाई राखेछन्’ एसपी थापाले भने, ‘पीडित नावालिका होटलबाट भाग्न सफल भइछन् । उक्त सूचनापछि हामीले पीडितको अभिभावकसंग समन्वय गरी पीडितको उद्दार गर्यौ ।’ पीडितको आमाले छोरीलाई बेचविखन गर्ने उद्देश्यले ललाई फकाई प्रलोभनमा पारी विवाहको नाटक गरी होटल कोठामा लगी बन्धक बनाई राखेका हुँदा कारवाही गरी पाँउ भनी मानव वेचविखन तथा ओसारपसार कसूरमा मंगलबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त पेश गरेकी छन् । सोही जाहेरीको आधारमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरी बुधबार जिल्ला अदालत कास्कीमा मानव वेचविखन तथा ओसारपसार मुद्दा दर्ता गरि ५ दिनको म्याद थप गरिएको एसपी थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *