अव वैदेशिक रोजगारीका काम पोखराबाटै

Share this post :

Facebook
Twitter
WhatsApp

वैदेशिक रोजगारीमा जानेका लागि आवश्यक कामकाज पोखराबाटै हुने भएको छ । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई लक्ष्य गरी वैदेशिक रोजगारीमा जानेलाई आवश्यक पर्ने सबै सेवा सुविधा पोखराबाट उपलब्ध गराउने निर्णय गरेको हो ।

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसमेत गराउने तयारी स्वरुप नै सरकारले वैदेशिक रोजगारीका प्रक्रिया पोखराबाटै पूरा गर्न सकिने सुविधा दिन लागेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको सरोकारवालाको वैठकले पोखरा र भैरहवाबाट पनि उपलब्ध गराउने निर्णय गरेको हो । ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई आवश्यक पर्ने सबै सेवा सुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाट नै उपलब्ध गराउने छ’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिम, बिमा, श्रम स्वीकृति र भिसासँग सम्बन्धित कामका लागि काठमाडौं धाउन नपर्ने मन्त्रालयले जनाएको छ ।

सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गरिने सेवाको सम्बन्धमा सम्बन्धित कार्यालयले व्यवस्था मिलाउने भनिएको छ । निर्णयमा भनिएको छ, ‘श्रम स्वीकृति लगायत सेवालाई सरल र सहज बनाउन वैदेशिक रोजगार विभागले आवश्यक व्यवस्था मिलाउने ।’

भिसा सेन्टरको स्थापनाका लागि परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने समेत जनाइएको छ । ऐन, नियम, कार्यविधिमा केही संशोधन वा निर्णय गर्नुपर्ने भएमा मन्त्रालयले अध्ययन गरी निर्णय गर्ने प्रकाशित सूचनामा उल्लेख छ । श्रम मन्त्रालयअन्तर्गतका सेवालाई क्रमशः प्रदेशस्तरमा लैजान आवश्यक तयारी मिलाउनेसमेत निर्णय भएको छ ।

भिसा सेन्टर स्थापनाका लागि परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णय श्रम मन्त्रालयले गरेको छ । ऐन, नियम कार्यविधिमा संशोधन वा निर्णय गर्नुपर्ने भए मन्त्रालयले अध्ययन गरी व्यवस्था मिलाउने निर्णय गरेको छ । मोफसलमा २ नयाँ विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म पनि वैदेशिक रोजगारसँग सम्बन्धित कामका लागि काठमाडौंमै धाउनुपर्ने बाध्यता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *