स्वरुप परिवर्तन गरेका १४९ मोटरसाइकललाई कारबाही

Share this post :

Facebook
Twitter
WhatsApp

स्वरूप परिवर्तन गरेर समाजमा होहल्ला गरी ध्वनी प्रदुषण गर्ने १४९ मोटरसाइकललाई प्रहरीले कारबाही गरेको छ । साउन ३० देखि आइतबारसम्म १४९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाहीको लागि अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार यी मोटरसाइकलबाट करिव २२ लाख राजश्व उठ्ने आकलन गरिएको छ । यसमा पहिलो पटकेदेखि चौथो पटकेसम्म रहेका छन् । प्रहरीले पटके कारबाहीमा परेकालाई यातायात व्यवस्था कार्यालय पठाउने बताएको छ । स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्वर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनी प्रदुषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ वमोजिम कारबाही गरिने जिल्ला प्रहरी प्रमुख मोहन थापाले बताए । उक्त कानुनमा १५ हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

यस कार्यमा संलग्न सवारी धनी र वर्कसप संचालकलाई मुलुकी अपराध संहिता, २०७४ वमोजिम सार्वजनिक शान्ति भंग वा अभद्र व्यवहारको कसूरमा मुद्दा चलाउने उनले बताए । कास्की प्रहरीले गत असोज २१ देखि स्वरुप परिवर्तन गरेका मोटरसाइकललाई अभियानकोरुपमा नियन्त्रणमा गर्दै आएको छ । यसअघि प्रहरीले ८ जना वर्कसप संचालकलाई पक्राउ गरी कारबाही गरेको थियो भने, २ हजार ३५ मोटरसाइकलाई कारबाही गरिसकेको जनाएको छ । यसबाट २९ लाख ८ सय जरिवाना उठेको प्रहरीले जनाएको छ ।

स्वरुप परिवर्तन गरि मोटरसाइलक चलाउँदा दुर्घटना हुने, ध्वनी प्रदुषण, विरामी, बृद्धबृद्धा, बालबालिका तथा संवेदनशील क्षेत्र (अस्पताल, स्कुल)मा प्रत्यक्ष असर परेको हुँदा स्थानीयको गुनासो अनुसार अभियान संचालन गरिएको एसपी थापाले बताए । उनले यस्ता मोटरसाइकलविरुद्ध प्रहरीमा खवर गर्न पनि नागरिकलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *