गण्डकी विश्वविद्यालयले एआई विषय पढाउने

Share this post :

Facebook
Twitter
WhatsApp

नेपालमा नै पहिलोपटक गण्डकी विश्वविद्यालयले एआई पढाउने बताएको छ । स्नातकोत्तर तहमा एआई विषय पढाउनको लागि विश्वविद्यालयले पाठ्यक्रम तयार पारेको रजिष्ट्रार डा कैलाश तिमिल्सिनाले जानकारी दिए ।

बुधबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले उक्त पाठ्यक्रम सार्वजानिक गरेका छन् । भदौ १६ गतेबाट विश्वविद्यालयले यसको पढाइ थाल्ने छ । प्राकृतिक विज्ञान मात्र नभई समाज विज्ञानसँग जोडेर यसको पढाइ गरिने भएकाले यो विषय बढी व्यावहारिक हुने तिमिल्सिना बताउँछन् । अहिले पढाउनका लागि दक्ष जनशक्तिको अभाव रहेको स्वीकार गर्दै उनले राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरी पढाइ सञ्चालन गरिने बताए ।

तिमिल्सिनाले राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञसँगको लामो छलफलपछि पाठ्यक्रम तयार पारिएको बताएका छन् ।

विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले यसको पढाई संचालन गर्न सके प्रभावकारी बन्ने बताए । यसको पढाई २ वर्षमा सकिने छ । विज्ञान प्रविधिमा स्नातक उत्तीर्ण भएकाले मात्र यो विषय पढ्न सक्नेछन् । प्रतिसेमेस्टर २० जना विद्यार्थी प्रवेश परीक्षामार्फत् छनोट गरिनेछ । यसका लागि छुट्टै प्रयोगशाला बनाउन लागिएको रजिष्ट्रार तिमिल्सिनाले बताए ।

विश्वविद्यालयले स्नातक तहका आइटी, फार्मेसी, बिबिए, स्पोट्र्स म्यानेजमेट र कानुन संकाय गरी ५ कार्यक्रम सञ्चालन गर्दै आएको छ । अहिले ५२ जिल्लाका ४ सय ७६ विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयको आफ्नै आविश्कार केन्द्र, सुविधा सम्पन्न प्रयोगशाला र पुस्तकालय रहेको रजिष्ट्रार तिमिल्सनाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *