आव २०८०/८१ : गण्डकी प्रदेश सरकारको बजेट खर्च ६६ प्रतिशत मात्र

Share this post :

Facebook
Twitter
WhatsApp

जेठ समान्तसम्म ४० प्रतिशत बजेट खर्च गर्न नसकेको गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ मा भने ६६ दशमलव ५९ प्रतिशत बजेट खर्च गरेको छ । एकै दिन २ अर्व बजेट भुक्तानी गरि दुई चौमासिक भन्दा बढीको समय बराबरको बजेट असारमा मात्रै खर्चिएको पाइन्छ । पुरानै परिपार्टी अनुसार गत आवको बजेट खर्च पनि असारमा मात्रै भएको देखिन्छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार असार २३ गते मात्र प्रदेश सरकारले १ अर्व ९१ करोड ८५ लाख २ हजार ६२ रुपैयाँ अर्थात् ५ दशमलव ७४ प्रतिशत रकम भुक्तानी गरेको छ । यस्तै, असार २४ गते ३ दशमलव ५९ प्रतिशत अर्थात् १ अर्व १९ करोड ८८ लाख ९४ हजार ८४३ रुपैयाँ खर्च गरेको हो । यो गत आवको सवैभन्दा बढी बजेट खर्च भएको दिन हो ।

आर्थिक वर्ष २०८०÷८१ को अन्तिम दिन ३१ गते भए पनि सरकारले गर्ने रकमको कारोबारका लागि भने २४ गत असार अन्तिम दिन थियो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले सञ्चालन गर्ने खाता बन्द भएपछि सरकारी कारोबार रोकिएको हो ।

स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टिएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनुअघिसम्म सरकारको बजेट खर्च ६६ प्रतिशत थियो । प्रदेश सरकारले गत आवको लागि ३३ अर्ब ४२ करोड ७२ लाख बजेट विनियोजन गरेको थियो ।

प्रदेश लेखा नियन्त्रक सुदीप गौतमका अनुसार सरकारले चालुतर्फ ६० प्रतिशत अर्थात् ७ अर्व ६० करोड खर्च भएको छ । यसतर्फ १२ अर्व ७० करोड विनियोजन गरिएको थियो । यसैगरी, पुँजीगततर्फ विनियोजन गरिएको २० अर्ब २१ करोडमध्ये १४ अर्ब ६३ करोड अर्थात् ७२ प्रतिशत खर्च भएको छ । वित्तिय व्यवस्थामा राखिएको ५० करोड रुपैयाँ भने खर्च नभएको लेखा अधिकृत गौतमले जनाए ।

गण्डकीको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले सबैभन्दा बढी ८८ दशमलव ९६ प्रतिशत रकम खर्च गरेको छ । यो मन्त्रालयका लागि विनियोजन गरिएको ५ अर्ब १ करोडमध्ये ४ अर्ब ४६ करोड खर्च गरेको छ । सबैभन्दा कम आर्थिक मामिला मन्त्रालयले ४८ दशमलव ३२ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयका लागि छुट्याइएको १५ करोड १५ लाखमध्ये ७ करोड ३२ लाख खर्च भएको हो ।

समग्ररुपमा बजेट खर्च सन्तोषजनक रहेको गौतमले बताए । उनले विकासे आयोजनाको भुक्तानी अन्तिममा आएर गर्ने भएकाले बजेटको ठूलो हिस्सा खर्च असारमा नै हुने बताए । बजेट असार लागेपछि सक्नुपर्छ भन्ने पुरानै शैलीबाट बजेट कार्यान्वयन हुने गरेको कर्मचारी स्वंम बताउँछन् । बजेट सम्झौता अन्तिम समयमा गर्ने, समयकै काम सकिएका योजनाको भुक्तानी असारमा नै पु¥याउने, वहुवर्षिय योजना, रकमान्तर जस्ता कारणले बजटे असारमा नै खर्च हुने र खर्चको लक्ष्य पनि भेटाउन नसकिने गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *