गण्डकी प्रदेश सभाको वैठक भदौ २६ गते बस्ने भएको छ । सरकार फेरबदलका कारण प्रभावित बनेको प्रदेश सभाको वैठक दुई महिनापछि बस्दै छ ।
गण्डकी प्रदेश सभाको छैठौ अधिवेशन असार १८ गतेको प्रदेश सभा वैठकपछि स्थगित भएको थियो । असार १७ गते बसेको वैठकले सरकारको चालु आर्थिक वर्षको बजेट पारित गरेको थियो ।
प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले सभामुख कृष्णप्रसाद धितालले सरकारकाो सिफारिसमा भदौ २६ गते वैठक आह्रवान गरेको जानकारी दिए ।
गण्डकी प्रदेश सभामा अहिले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्राइभेट फर्मसम्बन्धी दुई वटा विधेयक छलफलमा छन् । सरकारले केही दिनअघि मात्रै साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गराएको छ । यो विधेयक सदनमा टेवुल हुन बाँकी छ ।
बीजनाशक विषादी व्यवस्थापन सम्बन्धनमा बनेको विधेयक संसद्मा सामान्य छलफलपछि थप छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ ।
२०८१ वैशाख १६ गते सर्वोच्चको परमादेशबमोजिम नियुक्त भएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मात्र सरकारलाई पूर्णता दिएका छन् । गण्डकी प्रदेशका चार वटा संसदीय समिति छन् । उक्त समिति पनि अहिले निस्किृय छन् ।
६० सदस्यीय प्रदेश सभामा अहिले सरकारलाई ५३ सांसदको समर्थन छ । संसदीय समिति पनि पछिल्लो समय कामविहीन बनेको सदस्यहरुले बताएका छन ।
सामाजिक विकास तथा कृषि समिति सभापति फणीन्द्र देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेपछि नयाँ नेतृत्व चुनिएको छैन । प्रदेश मामिला तथा कानुन समितिमा कांग्रेस सांसद चम्पादेवी खड्का सभापति छन् भने अर्थ तथा विकास समितिमा भोजराज अर्याल सभापति छन् । सार्वजानिक लेखा समितिको सभापति भने सत्तारुढ दल एमालेका सुधिरकुमार पौडेल छन् । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले सार्वजानिक लेखा समितिको सभापति माओवादीले पाउनुपर्ने बताएको छ । फणीन्द्र पनि सभापति माओवादीकै कोटाबाट बनेका थिए ।
सरकारले प्रदेश सरकारका लागि ४० वटा ऐन आवश्यक पर्ने बताएता पनि विधेयक तयार गर्नेतर्फ ध्यान नदिएको प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले बताए ।