नेतृत्व तहमा महिलाको संख्या अहिले पनि नगन्य छ । संविधानले महिला अधिकार सुनिश्चित गरे पनि नेतृत्व तहमा महिला पुग्न सहज छैन् । यदपी नेतृत्वमा पुगेका महिलाले चलाएका संघ–संस्था भने सफल देखिन्छन । महिलाले नेतृत्व गरेका सरकारी तथा गैरसरकारी संस्थामा भ्रष्टाचार कम हुने गरेको यत्रतत्र सुनिन्छ । त्यो मध्ये एक हो नेपाल पत्रकार महासंघ, कास्की शाखा । तीन वर्षदेखि महासंघको नेतृत्व गरेर सफल अध्यक्षको रुपमा स्थापित भएकी छन् विमला भण्डारी ।
रेडियोबाट पत्रकारिता सुरु गरेकी भण्डारीले महासंघको नेतृत्व गरेको तीन वर्ष पुरा भयो । उनी अप्ठ्यारोलाई चिर्दै सहजताको बाटो बनाउन प्रयासरत छन् । नेपाली पत्रकारितामा देखिएका चुनौति र समस्यालाई महिलाले सजिलै समाधान गर्न सक्छन् भन्ने उदाहरण हुन् उनी । पितृसत्तात्मक सोचले भरिएको समाजमा महिलालाई सहजै नेतृत्व स्वीकार्न नसक्ने र नेतृत्वमा पुगेकालाई पनि सहजै काम गर्ने वातावरण सिर्जना नहुने उनको अनुभव छ । राज्यले पनि महिलाका लागि वातावरण बनाइदिने र प्रोत्साहन गर्ने विषयमा जोड दिनुुपर्ने उनी बताउँछिन् ।
भण्डारी पत्रकारितामा लाग्ने महिलाका लागि प्रेरणा हुन् । पत्रकार भनेको पुरुष मात्रै हो, समाचार लेख्ने पुरुष मात्रै हुुन्छन् भन्ने सोच उनले चिरेकी छन् । राजनीतिबाट पत्रकारितामा लागेकी भण्डारीले महासंघ भन्दाअघि रेडियो जननीको नेतृत्व समालेकी छन् । उनी सामाजिक क्षेत्रमा पनि उत्तिकै सकृय छन् । पत्रकारिता क्षेत्रबाट नै सन् २०२२ को इन्टरनेस्नल भिजिटर लिडरसीप प्रोग्राम ९आइबिएलपी०का विषयमा अध्ययन गर्ने अवसरसमेत उनलाई मिलेको छ ।
माइती स्याङजा र घर पर्वत भएता पनि उनको कर्मथलो भने पोखरा बन्यो । पारिवारिक सहयोग, आफूभित्रको इच्छाशक्ति र समाजका लागि केही गर्ने उद्देश्वस्वरुप पत्रकारिता क्षेत्रमा सन्तुलित भावनाले लागिएको उनी बताउँछिन् । सामान्य परिवारमा हुर्केकी विमलाको परिचय आज समाजमा प्रशंसनिय छ । पत्रकारिता क्षेत्रमा देखिएका विकृति विसंगतिका विरुद्ध डटेर लड्नेमध्ये पर्छिन् उनी । मर्यादित पत्रकारितालाई आत्मसात् गर्दै सामाजिक रुपान्तरणमा भूमिका खेल्न सकिन्छ भन्ने विश्वास उनको छ । बिभिन्न चुनौतीका बाबजुद् पनि आफ्नो कार्यकालमा महत्वपूर्ण उपलब्धी हाँसिल गरेको दावी उनको छ ।
‘समग्रमा महासंघको यो कार्यसमितिले कार्यालयको नियमित काम फत्ते गर्दै नयाँ–नयाँ अभ्यासको थालनी पनि गरेको छ’ उनले भनिन, ‘पत्रकारको हकहितका लागि जे जति काम गर्नुपर्ने थियो, त्यो ग¥यौं । तर यो पूर्ण होइन । गर्नुपर्ने अझै धेरै छन् । महासंघ कास्की शाखाको गरिमा अझै उचाइमा पु¥याउन हामीले गरेका काम हृदयदेखि नै ग¥यौं । त्यसकारण महिला नेतृत्व भएर अझ फरक कामहरु गर्न सकेको महशुस भएको छ ।’ महिलाका सवाल बुझ्न, महिलालाई अवसर प्रदान गर्न र महिलाको सशक्तीकरण गर्न महिला नेतृत्व नै जरुरी रहेको उनी बताउँछिन् ।
उनले आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण काम ई लाइब्रेरी तथा स्रोत केन्द्रलाई लिएकी छन् । स्मार्ट फोन र सामाजिक सञ्जालका कारण मानिसमा अचेल पुस्तकालयको महत्व घट्दो छ । पत्रकारितामा पुस्तकालयको साइनो मर्नु हुँदैन । ‘निरन्तर समाचारमै खेल्ने राज्यको चौथो अंग पत्रकारिता जगतमा ज्ञानको दायरा फराकिलो हुनैपर्छ’ उनले थपिन, ‘तसर्थ पत्रकारको क्षमता अभिवृद्धिसँगै ज्ञान र सूचनामा सहज पहुँचका लागि नेपाल पत्रकार महासंघ कास्कीले इ–लाइब्रेरी र स्रोत केन्द्र स्थापना गरेको हो ।’ लामोसमय देखिको सपना पुरा भएको उनले बताइन् ।
महासंघ कास्कीमा आबद्ध पत्रकारसहित परिवारको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिनु उनले अर्को उपलव्धी मानेकी छन् । विगतमा पोखरा महानगरपालिकाको सहयोगमा थालनी भएको पत्रकार स्वास्थ्य बीमालाई महासंघ कास्कीकै पहलमा गण्डकी प्रदेश सरकारले पनि समेटेको दावी उनको छ ।
गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न विधेयकमा समेटिएका कतिपय प्रेस स्वतन्त्रताविरोधी बुँदा हटाउन महासंघ कास्कीकै पहलमा दबाबमूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् । ‘विधेयकमा उल्लेखित त्यस्ता बुँदाहरु हटाउन सरकारको पटकपटक ध्यानाकर्षण गर्नुका लागि सरोकारवालासँग छलफल र सुझावका आधारमा विधेयक पुनर्लेखन गर्नुपर्ने माग राख्यौ’ उनले थपिन । महासंघकै दबाब र खबरदारीका कारण नेपालको संविधानले व्यवस्था गरेको पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टीसँग बाँझिने बुँदा हटाएर ‘गण्डकी प्रदेश आमसञ्चार ऐन, २०८०’ आएको उनले बताइन् । जुन २०८० फागुन २१ मा पारित भइसकेको छ ।
महासंघको प्रमुख कार्यमध्ये आफ्ना सदस्यको क्षमता अभिवृद्धिको लागि विभिन्न विधाका तालिम, अभिमुखीकरण, प्रशिक्षण गरिएको छ । उनका अनुसार पत्रकार महिलालाई लक्षित गरी महासंघ कास्कीको समन्वयमा यसै शैक्षिक सत्रदेखि पत्रकारिता अध्ययनमा पूर्ण छात्रवृत्तिको व्यवस्था मिलाइएको छ । यसबाट विपन्न तथा जेहेनदारतर्फ प्रत्येक वर्ष पाँच जना पत्रकारलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर मिल्नेछ । महिलालाई सञ्चार क्षेत्रको निर्णायक तहमा पुर्याउन आवश्यक रहेको उनी बताउँछिन् ।