सम्बन्ध विच्छेदको तयारीमा थिए कुँवर दम्पती

Share this post :

Facebook
Twitter
WhatsApp

श्रीमतीले कोठाको सामान अन्यत्रै सार्न खोज्दा झगडा भएपछि श्रीमानले खुकुरी प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सरकारी कार्यालय खुल्ने समय विहान १० बजे । सोही समयमा जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन् राधीका कुँवर । फोनमा व्यस्त उनको साथमा अर्की महिला साथी थिइन् । जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका शाखाकी प्रमुख प्रहरी निरीक्षक सरला ढकाल सुनाउँछिन्, ‘म अफिस आउँदै थिए । राधीकाले एकछिन है म बाहिर गएर आउँछु भन्नुभयो र हतारमा निस्कनुभयो । मैले अरु कुरा गर्न पाइन् ।’

यसअघि पनि जिल्ला प्रहरीमा उनी र उनका श्रीमानबीच पटकपटक छलफल गरिएको थियो । मौखिक उजुरीको आधारमा छलफल गराएर मिलापत्रको कागज गरेर पठाउने गरेको प्रहरी निरीक्षक ढकाल बताउँछिन् । ‘दुवै पक्षलाई राखेर आज पनि छलफल गराउने सोचमा थिए, एकाएक दुखद घटनाको पो खबर आयो’ उनले भनिन, ‘१२ वर्षको छोरा छ । अदालतमा सम्बन्ध विच्छेदको मुद्दा चलेको छ । सम्बन्ध विच्छेदपछि छुट्टाछुट्टै बस्ने तर, अहिलेलाई संगै बस्ने भनेर गएको जोडीको दुखद खबर सुन्नुपर्यो ।’

श्रीमती पार्लर सम्बन्धी काम गर्थिन् । श्रीमान भने वैदेशिक रोजगार कतार गएर फर्किएका हुन् । राधीकाले कोठाको सामान अन्यत्रै लैजाने भनेर बुधबार मध्यान्ह १२ बजेको समयमा सामान सार्ने तयारी गरिन् । श्रीमान जहरसिंह कुँवर भने श्रीमतीलाई अन्यत्र जान दिएका थिएनन् । उनले संगै बस्ने भनेर श्रीमतीसंग विवाद गरे । दुवै पक्षको झगडाले अन्तत : राधिकाले ज्यान गुमाउन पुगिन् । राधिकाको घाँटी र पेटमा खुकुरी प्रहार गरी जहरले हत्या गरेका हुन् । अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भएका कुँवर दम्पती पोखरा–८ बगालेटोल डेरामा बस्दै आएका थिए ।

मध्याह्न १२ बजेतिर राधिका चिच्याएको आवाज आएपछि घरबेटी गएर हेर्दा जहरसिंहले श्रीमतीलाई खुकुरी प्रहार गरिरहेको देखेका थिए । घरबेटीले खबर गरेपछि तत्कालै वडा प्रहरी कार्यालय बैदामको टोलीले जहरसिंहलाई पक्राउ गरी राधिकालाई अस्पताल पुयाएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा चिकित्सकले १२ः४४ बजे मृत घोषणा गरेको कास्की प्रहरी प्रमुख मोहनकुमार थापाले बताए । जहरसिंहलाई खुकुरीसहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको एक छोरा रहेका छन् ।

एसपी थापा भन्छन, ‘वैदेशिक रोजगारले धेरैको घर उजाड्यो । संकैसंकाले विवाद उत्पन्न गराएको छ ।’ उनले राधिकाको मृत्यु पनि वैदेशिक रोजगारकै कारण भएको हुन सक्ने बताए । विदेशबाट फर्किपछि श्रीमान वेरोजगार थिए । वेरोजगारी पनि अर्को समस्या हुन सक्ने प्रहरीको आकलन छ । ‘१२ वर्षिय बालकलाई कसको जिम्मा लगाउने भनेर आफन्तको खोजीमा छौ’ एसपी थापाले भने, ‘बाबुआमाको झगडाले बच्चालाई पहिलैदेखि नराम्रो असर परेको थियो । स्कूल गएको बच्चा घर फर्किदा आमा मारेर बाबु जेल गएको भन्ने कुराले मानसिकरुपमा कति असर गर्छ ?’ जहरसिंह डिप्रेशनको रोगी रहेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानले तीन दिनदेखि उनले डिप्रेशनको औषधी सेवन गरेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *