सामान्य उडानको आठ हजार, क्रस कन्ट्रीको बाह्र हजार

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरामा हुने प्याराग्लाइडिङ उडानमा नयाँ शुल्क लागू भएको छ । प्याराग्लाइडिङ कम्पनी र पाइलटबिच अक्टोबर १ बाट नयाँ शुल्क लागू गर्ने सहमति भएको थियो ।
आपसी विवादका कारण एकद्वार प्रणाली हटाइँदा गएको मंसिरयता प्याराग्लाइडिङ उडान शुल्क तीन हजारसम्म झरेको थियो । करोडौं लगानी गरेका कम्पनी आपसी विवादका कारण साह्रै सस्तो शुल्कमा काम गर्नुपर्दा विस्थापित हुने अवस्थामा पुगेका थिए भने धेरै पाइलटले पेशा नै छाड्ने अवस्था आएको थियो ।
नेपाल हवाई खेलकुद संस्था पोखराका अध्यक्ष अनिल केसी दुवै पक्षले अहिले यथार्थ महसुस गरी समाधान खोजेको बताए । अहिले नेपाल प्याराग्लाइडिङ पाइलट क्लब र नाका प्रतिनिधिबिच भएको छलफलपछि नयाँ शुल्क तोकिएको छ । ‘यसरी अस्वस्थ्य प्रतिस्पर्धा गर्दा एकातिर सुरक्षा खतरा देखियो भने अर्कातिर कम्पनी र पाइलट दुवै विस्थापित हुने अवस्था बन्यो’ अध्यक्ष केसीले भने, ‘अहिले दुवै पक्ष बसेर नयाँ शुल्क तोकिएको छ । अक्टोबर १ बाट त्यो शुल्क लागू भएको छ ।’
अब १५ देखि ३० मिनेटसम्मको उडानको संस्थागत मूल्य सात हजार पाँच सय र अधिकतम बजार मूल्य आठ हजार पाँच सय कायम हुनेछ । ३० मिनेटदेखि ६० मिनेटसम्म कम्पनी मूल्य ११ हजार दुई सय ५० र अधिकतम मूल्य १२ हजार सात सय ५० रुपैयाँ राखिएको छ । ६० मिनेटको उडान क्रस कन्ट्री हो ।
पहिले सामान्य उडानको १२ हजार र क्रस कन्ट्री फ्लाइटको १८ हजार शुल्क थियो । गत मंसिर अन्तिम साताबाट व्यवसायीबिच विवादपछि एकद्वार प्रणाली हट्दा उडान शुल्क तीन हजारसम्म झरेको थियो । अर्थतन्त्रमा सुधार आउँदै जाँदा पाइलट र व्यवसायी दुवैले थोरै मार्जिन राखेर चल्ने उपाय खोजेको उनको भनाइ छ । क्रस कन्ट्री उडानको शुल्क १८ हजारबाट घटाइएको हो । क्रस कन्ट्री उडान कुल उडानको बढीमा १० प्रतिशतमात्र हुने गरेको छ ।
अहिले पाइलटको पारिश्रमिक पनि बढाइएको छ । यो निर्णयसँगै पाइलटले अब प्रतिउडान ६० प्रतिशत र व्यवसायीले ४० प्रतिशत पाउने छन् । यसअघि दुवै पक्षले आधा आधा रकम पाउने गरेका थिए ।
कस्कीमा अहिले नवीकरण भएका ५० प्याराग्लाइडिङ कम्पनी छन् । दर्ता भएका ५७ मध्ये सात वटाको नवीकरण भएको छैन । यहाँ चार सय हाराहारी प्याराग्लाइडिङ पाइलट रहेकोमा दुई सय ९५ जना नियमित काममा छन् ।
उडान भर्ने ग्राहक पाएको अवस्थामा दिनमा दुई पटकसम्म एक पाइलटले उडान भर्न सक्छन् । पाइलटले आपूmले उडाउने ग्लाइडर आफैं व्यवस्था गर्नुपर्छ । यसको शुल्क दश लाखसम्म पर्छ । प्यारा पाइलट बन्न दुईदेखि तीन वर्ष तालिम र अन्य लगानी गरी २५ लाखसम्म खर्च हुने जानकार बताउँछन् ।
यता, प्याराग्लाइडिङ कम्पनीले अप्रेसन खर्च, गाडी र आवश्यक सामान लेकसाइडबाट सराङकोट पुयाउनेसहितका खर्च व्यहोर्दै आएका छन् । पोखरा प्याराग्लाइडिङ क्षेत्रमा एक अर्बभन्दा बढी लगानी भएको बताइन्छ ।
नेपाल प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष दीपक थापाले पछिल्लोसमय बनेको सहमतिले यो क्षेत्रमा स्थिायित्व ल्याउने अपेक्षा गरे । ‘पहिले न पाइलटको सुरक्षा, न आम्दानी हुने अवस्था थियो । अहिलेको सहमति राम्रो छ । यसलाई कार्यान्वयन गरी पोखराको प्याराग्लाइडिङलाई पहिलेकै अवस्थामा पु¥याउनुपर्छ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *