क्यानडामा गतवर्ष भएको सिख पृथकतावादीको हत्यालाई लिएर कायम तनाव बढ्दै जाँदा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध खस्किदै गएको छ ।
क्यानडाले भारतसँग आइतबार गरेको कूटनीटिक संवादमा खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्यामा क्यानडास्थित भारतीय उच्च आयुक्त सञ्जयकुमार बर्मा र अन्य भारतीय कूटनीतिज्ञ संलग्न रहेको आरोप लगाएपछि सम्बन्ध थप चिसिएको हो ।
सम्बन्धमा दरार आएपछि भारतले दिल्लीमा रहेका ६ क्यानडेली उच्च कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ भने क्यानडाले पनि ६ जना भारतीय कूटनीतिज्ञलाई देश छाड्ने आदेश दिएको छ ।
भारतीय विदेश मन्त्रालयले क्यानडाको आरोपप्रति कडा आपत्ति जनाएको छ । उसले क्यानडाका कार्यवाहक उच्चायुक्त स्टिवर्ट रस ह्वीलर, उपउच्चायुक्त प्याट्रिक हेबर्ट, प्रथम सचिव मेरी क्याथरिन जोली र अधिकारीहरू इयान रस डेभिड ट्राइट्स, एडम जेम्स चुइप्का र पाउला अर्जुएलालाई १९ अक्टोबर (शनिबार) राति १२ बजेभित्र भारत छाड्न भनेको छ ।
भारतले क्यानडालाई दिल्लीस्थित आफ्ना कूटनीतिक कर्मचारी फिर्ता लैजान र भिसा सेवा निलम्बन गर्नसमेत आग्रह गरेको छ । भारतको विदेश मन्त्रालयले सोमबार जारी गरेको वक्तव्यमा क्यानडाको आरोप सिख पृथकतावादीबाट प्रभावित रहेको उल्लेख छ । जवाफमा क्यानडाले उच्च आयुक्तसहित ६ भारतीय कूटनीतिज्ञलाई देश छाड्न भनेको छ । भारतले भने सुरक्षाको कारण देखाएर आफैंले आफ्ना कूटनीतिज्ञलाई फिर्ता बोलाएको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले क्यानडा सरकारको प्रतिबद्धतामाथि विश्वास नरहेको भन्दै कूटनीतिज्ञ र अधिकारीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको जनाएको छ ।
१८ जुन २०२३ मा क्यानडाको ब्रिटिस कोलम्बियाको सरीस्थित गुरुद्वारानजिकै गोली हानेर खालिस्तान समर्थक निज्जरको हत्या गरिएको थियो । भारतले निज्जरलाई आतंकवादी सूचीमा राखेको थियो । सिख समुदायका केही समूहले भारतमा छुट्टै देश ‘खालिस्तान’ को माग गर्दै आएका छन् ।
क्यानडामा ठूलो संख्यामा सिख समुदायका मानिस छन् । ‘खालिस्तान’ का पक्षमा क्यानडामा बेलाबेला प्रदर्शन हुने गरेको छ । त्यस्तो गतिविधि र प्रदर्शनमाथि नियन्त्रण गरिनुपर्ने र त्यसमा संलग्नलाई पक्राउ गरेर आफूलाई बुझाउनुपर्ने माग भारतले क्यानडासमक्ष राख्दै आएको छ । तर क्यानडा सरकारले आफ्नो देशमा अभिव्यक्ति स्वतन्त्रता रहेको भन्दै त्यस्ता गतिविधिमा रोक लगाउन मानेको छैन ।
यही विषयमा दुई देशबीच केही वर्षयता कूटनीतिक संवाद जारी रहेकै बेला क्यानडामा खालिस्तान समर्थक निज्जरको हत्या भएको थियो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत वर्ष सेप्टेम्बरमा संसद्मा बोल्दै निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाएका थिए । भारतले त्यसको प्रमाण मागेको थियो । त्यसपछि दुई देशबीच कूटनीतिक तथा राजनीतिक तहमा तनाव बढेको थियो । दुवै देशले एकअर्काका केही कूटनीतिज्ञलाई देश निकाला गरेका थिए । पछिल्लोसमय भने दुवैले एकअर्काको उच्चायुक्तलाई नै देश निकाल्न लागेका हुन् ।