काखमा बच्चा, थाल र चम्चा लिएर सहकारीपीडितको विरोध प्रदर्शन

Share this post :

Facebook
Twitter
WhatsApp

दिउँसोको टनटलापुर घाम । महिलाका काखमा बालबच्चा पनि थिए । साथमा थाल, चम्चा र थालमाथि ढुँगा राखेर पोखराका सहकारीपीडित महिला विहीवार विरोध प्रदर्शनमा उत्रिएका थिए । यो दृश्य पोखरा महानगरपालिका–१७ मुस्ताङचोकको हो । सहकारीमा राखेको बचत रकम फिर्ता नपाएपछि खानको लागि ढुँगाबाहेक केही भएन भन्दै सहकारीको रकम फिर्ता माग गर्न उनीहरु बालबच्चासहित सडकमा उत्रिएका हुन् ।

९ वर्षदेखि सहकारीमा बचत गरेको रकम नपाएपछि घरमा खानको लागि केही नभएको दुखेसो पोख्छिन्, पोखरा–११ काहुँडाँडाकी डिलमाया महर्जन । पोखरा–४ नालाको मुखस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीमा उनको बचत रकम छ ।

उनीजस्तै पोखरा–९ नागढुँगाकी पार्वती केसी पनि विहीवार आन्दोलनमा सहभागी थिइन् । तीन वर्षदेखि निरन्तर आन्दोलनमा हिडिरहेको बताउँदै उनी भन्छिन, ‘हामीले न्याय पाएनौ । सरकारले हाम्रो माग सम्बोधन गरेन् । यदी हाम्रो समस्या सम्बोधन गर्न सक्दैन भने सरकारले कुर्ची छोडोस न्याय दिन सक्नेले कुर्ची समाल्नेछन् ।’ सूर्यदर्शन सहकारीमा ८ लाख रुपैयाँ बचत गरेकी उनले विरामी हुँदा उपचारको लागिसमेत आफ्नै रकम नपाएको भन्दै आक्रोश पोखेकी हुन् । आफू कुनै पनि पार्टीमा आवद्ध नरहेको भन्दै सहकारीपीडितको समस्या समाधान गरे रास्वपाकै पक्षमा पनि भोट दिन तयार रहेको भन्दै उनले रास्वपालाई पनि समस्या समाधानको लागि आग्रह गरेकी छन् ।

‘हामी विशुद्ध सहकारीपीडित हौ’ उनले भनिन, ‘हामी कुनै पार्टीका कार्यकर्ता होइनौ’ उनले भनिन । पार्टीले खटाएका आएका कार्यकर्ता नभई वास्तविक सहकारीपीडित रहेको उनको भनाई थियो । आफ्नै आँखा अगाडि रास्वपाले सहकारी ठगको संरक्षणमा जुलुस निकालेको भन्दै उनले दुखेसो पोखिन् । पोखरा–९ नयाँबजारका हिराबहादुर पाण्डेको पनि समस्या उस्तै छ । सूर्यदर्शनमा राखेको बचत पाउन धौ भएपछि घरमा खाने अन्नसमेत नभएको गुनासो उनले गरे । ‘पैसाकै कारण कतिका त घरबारै विग्रियो’ एक बृद्ध महिलाको दुखेसो सुनाउँदै उनले भने, ‘बुढेसकालमा ती महिला कहाँ जान्छिन । विरामी छन् उपचार गर्ने पैसा छैन् ।’ विरोध प्रदर्शनमा सहकारीपीडितहरुले पैसाकै कारण घरपरिवारमा पनि फाटो आएको भन्दै आक्रोश पोखेका थिए ।

सहकारी ठगी प्रकरणमा दोषीहरूलाई कारबाही र आफूहरूको बचत रकम फिर्ता हुनुपर्ने माग उनीहरुको छ । सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति र सहकारी बचत पीडित संघ कास्कीको आयोजनामा विरोध प्रदर्शन भएको हो । गोर्खा मिडिया प्रालिमा दुरुपयोग भएको बचत रकम तुरुन्त फिर्ता गर्नुपर्ने र दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ । उक्त सहकारी प्रकरणमा प्रहरीले गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशी र तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछानेसहितलाई अनुसन्धानका लागि हिरासतमा लिएको छ । उनीहरुलाई विहीवार जिल्ला अदालतले ७ दिनका लागि पुन म्याद थप गरेको छ ।

लामिछानेलाई रिहाइ गर्न रास्वपाले सडक संघर्ष थालेपछि पीडितहरू पनि सडकमा उत्रिएर कारबाहीको माग गरिरहेका छन् । सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समितिका अध्यक्ष किरण श्रेष्ठले आन्दोलन निरन्तर नगरिने बताए । सहकारीको रकम हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्यानुपर्ने र रास्वपाको आन्दोलनले अदालत प्रभावित पर्न नहुने उनको भनाई थियो ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि विहीवार आफ्ना सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा प्रदर्शन जारी राखेको छ । विहान ११ बजेदेखि नै ¥यालीसहित वाईचोकमा कोणसभा गरेको थियो । केहीसमय प्रदर्शन गरेपछि सृजनाचोक पुगेर पुन रत्नचोक आएको थियो । प्रहरीले उनीहरुलाई रत्नचोकमा रोक्न खोजेपछि मुठभेद गर्दै पुनः वाईचोक आएका थिए । वाईचोकमा रास्वपाका कार्यकर्ता र सुरक्षाकर्मीबीच हात हालाहाल भएको थियो । केही समय मुठभेद गरेपछि रास्वपाले प्रहरीको घेरा (निषेधीत क्षेत्र) तोडेदै राष्ट्र बैंकचोक पुगेर आन्दोलन गरेको थियो । सभापति लामिछानेलाई सरकारले पूर्वाग्रहीका साथ ७ दिनको म्याद थपेको भन्दै कार्यकर्ताले निषेधित क्षेत्र तोडेका हुन् । प्रहरीले आन्दोनलकारीको भीडलाई नियन्त्रण गर्न भने सकेन् । दुई वटा अश्रुग्याँस पड्काएको भए पनि प्रहरीले प्रदर्शनकारीको भीड नियन्त्रण गर्न नसकेपछि थप सुरक्षाकर्मी खट्टाइएको थियो । रास्वपाको प्रदर्शनलाई पार्टी उपाध्यक्ष एवं सांसद डोलराज अर्याल, सांसद तोसीमा कार्की लगायतले सम्बोधन गरेका थिए । आन्दोलनमा करिव एक हजार प्रहरी खट्टाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *