अपाङ्गमैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अपाङ्गमैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध भएको बताएका छन् । स्वालम्बन जीवन पद्धति केन्द्र पोखराले आयोजना गरेको अपाङ्गता अधिकार ऐन तर्जुमाको लागि अपाङ्गता अधिकारकर्मी नेतृत्वको वकालत परियोजना अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको लागि भौतिक पूर्वाधार, संचार र यातायातमा पहुँच सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले प्रदेश सरकार अपाङ्ग मैत्री बन्दै आएको बताए ।

उनले अपाङ्गताको क्षेत्रमा काम गर्ने संघसंस्था सँग मिलेर प्रदेश सरकार अगाडि बढ्ने उल्लेख गरे । प्रदेशमा बन्ने संरचनाहरु अपाङ्ग मैत्री बनाउन पहलकदमी गरिने भनाई उनको छ । मन्त्री थापाले अपाङ्गताको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै ऐनमा नै सहज वातावरण मिलाउने व्यवस्था गर्ने गरी प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सार्वजनिक स्थान, यातायात र अन्य क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुले सहजै काम गर्न सक्ने गरि व्यवस्था गरिने उनले बताए । समानुभूति, समझदारी र समावेशी दृष्टिकोण निर्माण गरि अगाडि बढ्ने भनाई उनको छ ।

गण्डकी प्रदेश सभा सदस्य तथा नेकपा एमालेकी सचेतक देवका पहारीले सामाजिक क्षेत्रका हरेक विषयमा अपाङ्गतामैत्री वातावरण बनाउन आवश्यक रहेको उल्लेख गरिन् । माओवादी केन्द्र गण्डकी प्रदेश सभाका प्रमुख सचेतक कुशुमबुढा मगरले लामोसमयसम्म लडेर महिला, अपांगको अधिकार ल्याएको बताइन् । संविधानमा अपांगता भएका व्यक्तिको अधिकार समेटिएको भए पनि कार्यान्वयनमा चुनौतिक रहेको बताइन् ।

स्वालम्बन जीवनपद्धति केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महाासचिव अन्जना केसीले गरेकी थिइन् । कार्यक्रममा अपाङ्गता भएका व्यक्ति र परिवारले भोग्नुपरेको समस्याका विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा अपांगता भएका व्यक्तिको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा अपांग भएका व्यक्तिलाई पाइलैपिच्छे अवरोध मात्र रहेको भन्दै गुनासो गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *