निर्वाचन आयाेगले आगामी २१, फागुनमा हुने प्रतिनिधिसभाकाे निर्वाचनकाे तयारी पूरा भएकाे जनाएकाे छ । मंगलबार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता हुँदै छ ।
सम्पूर्ण तयारी पूरा भएको र सबै क्षेत्रमा निर्वाचन अधिकृत खटिएको आयोगले जनाएको छ । मनोनयन सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उम्मेदवारी मनोनयनपूर्व आयोगले सोमबारबाट निर्वाचन आचारसंहिता पनि लागू गरिसकेको छ ।
आचारसंहिताविपरीत हुने कार्य कसैले पनि गर्न नहुने भन्दै आयोगले ध्यानाकर्षण गराएको छ । उम्मेदवारी दिने सबै व्यक्तिसँग आचारसंहिता पालना गर्ने प्रतिबद्धता पनि आयोगले मनोनयनसँगै लिनेछ ।
प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार मतदाता नामावलीमा नाम समावेश रहेका नेपाली नागरिकले मात्र उम्मेदवारी दिन पाउँछन् । उम्मेदवार २५ वर्ष उमेर पुगेको, संघीय कानुनअनुसार अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने भनिएको छ ।
उम्मेदवार हुन चाहनेले नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, सरकारको वा सरकारी अनुदानबाट सञ्चालित संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको प्रमाण पनि मनोनयनपत्रसँगै बुझाउनुपर्नेछ ।
उम्मेदवार हुन चाहने व्यक्ति आफैं उपस्थित हुन नसके निर्वाचन प्रतिनिधि तोकी उम्मेदवारी मनोनयन गर्न पाउनेछ । त्यसका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकामा निर्धारित ढाँचाअनुसारको प्रतिनिधि तोकिएको फारम मनोनयनसँगै पठाउनुपर्ने आयोगद्वारा जारी सूचनामा भनिएको छ ।
उम्मेदवार हुनेले सम्बन्धित निर्वाचन क्षेत्रकै मतदाता नामावलीमा नाम समावेश भएका एक प्रस्तावक र अर्को एक जना समर्थक भई विवरण भरी सहीछाप गरेको
मनोनयनपत्र बुझाउनुपर्नेछ । दलका तर्फबाट उम्मेदवार हुनेले दलबाट प्राप्त मनोनयनको औपचारिक पत्र पनि समावेश गर्नुपर्नेछ । आयोगमा यसअघि नै मनोनयनपत्रमा हस्ताक्षर गर्ने पदाधिकारीको नाम र हस्ताक्षरको नमुना दलहरूले बुझाएका छन् ।
उम्मेदवारले १० हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुने कानुनी व्यवस्था छ । आर्थिक रूपले विपन्न भएकाको हकमा सम्बन्धित स्थानीय तहले विपन्न भनी सिफारिस गरेको पत्र समावेश गर्नुपर्ने प्रवक्ता भट्टराईले बताए ।
उम्मेदवार हुने व्यक्तिका लागि आयोगले तयार पारेको स्वघोषणापत्र पनि मनोनयनसँगै बुझाउनुपर्ने भनिएको छ ।
<span;>सरकारी पेस्की, बेरुजु तिर्न बाँकी नरहेको, कुनै भ्रष्टाचारजन्य कसुरमा मुद्दा विचाराधीन नरहेको, कुनै न्यायिक निकायको फैसलाबाट ठहर भएको कैद वा जरिवाना असुरउपर हुन बाँकी नरहेको, पक्राउ पुर्जी जारी रहेकामा पक्राउ हुन नसकी फरार नरहेको, विदेशको स्थायी आवासीय अनुमतिपत्र (डीभी/पीआर) नलिएको जस्ता स्वघोषणा उम्मेदवारले गर्नुपर्नेछ ।
यस्तै आयोगले तोकेको ढाँचामा सम्पत्ति विवरण भरिएको फारमसमेत निर्वाचन अधिकृत कार्यालयमा मनोनयनसँगै बुझाउनुपर्नेछ । प्रस्तावक, समर्थक, धरौटी रकम तथा तोकिएका कागजात संलग्न गरेर उम्मेदवार हुने व्यक्ति कार्यालय समयमा निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुपर्ने प्रवक्ता भट्टराईले बताए । प्रत्यक्ष निर्वाचनमा भाग लिने भनेर ११४ राजनीतिक दल आयोगमा दर्ता छन् ।
समानुपातिक निर्वाचनका लागि ५७ दलले उम्मेदवारको बन्दसूची बुझाएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुनेछन् भने समानुपातिकको ११० सिटका लागि दलले प्राप्त गरेको मतको अनुमानित आधारमा चुनिने संवैधानिक प्रावधान छ ।
उम्मेदवारी दिन के चाहिन्छ ?
मतदाता सूचीमा नाम, २५ वर्ष उमेर पूरा, संघीय कानुनअनुसार अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको
नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, सरकारको वा सरकारी अनुदानबाट सञ्चालित संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको भए राजीनामा दिएको प्रमाण
१० हजार रुपैयाँ धरौटी, तर महिला, दलित, अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्नलाई धरौटीमा ५० प्रतिशत छुट
सरकारी पेस्की वा बेरुजु तिर्न बाँकी नरहेको, भ्रष्टाचारजन्य कसुरमा मुद्दा विचाराधीन नरहेको, न्यायिक निकायको फैसलाबाट ठहर भएको कैद वा जरिवाना असुलउपर हुन बाँकी नरहेको, पक्राउ पुर्जी जारी भएकामा पक्राउ हुन नसकी फरार नरहेको, विदेशको स्थायी आवासीय अनुमतिपत्र (डीभी/पीआर) नलिएको स्वघोषणा

