जिल्ला अदालत स्याङ्जाले विभिन्न मुद्दामा गरेको फैसलापश्चात फरार रहेका ११ अभियुक्त पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय वालिङबाट सादा पोसाकमा खटिएको प्रहरीको विशेष टोलीले विहीवार ११ जना अभियुक्तलाई विभिन्न ठाउँबाट पक्राउ गरी जिल्ला अदालत हाजिर गराएको छ ।
पक्राउ पर्नेमा चेक अनादर मुद्दामा तीन हजार जरिवाना तिर्न बाँकी रहदा फरार रहेका वालिङ नगरपालिका–८ का किशोर कोइराला रहेका छन् । यसैगरी, केही सार्वजनिक अपराधमा दुई हजार जरिवाना नतिरी फरार रहेका वालिङ–१३ का रेशम भन्ने रमेश परियार, लेनदेन मुद्दामा ७१३ रुपैयाँ तिर्न बाँकी रहेका १ नम्बर वडाका लिलादेवी काफ्ले, कुटपिट तथा लुटपाट मुद्दामा ५२२÷५२२ जरिवाना तिर्न बाँकी रहेका ५ नम्बर वडाका शान्ति विक र माया विक, लागुऔषध मुद्दामा २ हजार जरिवाना तिर्न बाँकी रहेका पकवादीका मिनबहादुर थापामगर र सवारी ज्यान मुद्दामा दुई हजार ५० रुपैयाँ तिर्न बाँकी रहेका आलमदेवी छापडाँडाका ओमबहादुर थापामगर रहेका छन् ।
यसैगरी, एक महिना कैद र ५ सय रुपैयाँ जरिवाना तिर्न बाँकी रहेका भिरकोट नगरपालिकाका उम्मरबहादुर मिया रहेका छन् । उनको मुद्दाको शिर्षक भने खुलेको छैन् । यस्तै, नकवजनी चोरी मुद्दामा ७१ हजार एकसय ९७ रुपैयाँ तिर्न बाँकी भीरकोट–२ का मित्रबहादुर दर्जी, अन्य चोरी मुद्दामा ४ वर्ष कैद र १ हजार ८ सय ८७ जरिवाना बाँकी रहेका भीरकोट–७ का हरिबहादुर कोइराला र चोरी मुद्दामा ३ वर्ष कैद सजाय तोकिएर फरार रहेका धनबहादुर खवास रहेका छन् ।
पक्राउ परेका ११ जना अभियुक्तबाट ७ वर्ष १ महिना कैद र ८४ हजार ३ सय ९४.०४ रुपैयाँ राजश्व संकलन हुने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानले जानकारी दिए । अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाई न्यायीक कारबाहीलाई पूर्णता दिने, सुरक्षित र न्यायपूर्ण समाज निर्माण गर्ने उदेश्यले स्याङ्जा प्रहरीले फरार अभियुक्त पक्राउ अभियान चलाएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा सादा पोषाकमा विशेष प्रहरी टोली परिचालन गरी अभियानलाई कडाईका साथ कार्यान्वयन गरिएको एसपी न्यौपाने बताउँछन् । प्रहरीको सकृयताले अदालतको मुद्दा फैसला कार्यान्वयन पनि प्रभावकारी हुने प्रहरीको भनाई छ ।
