फेदीखोला गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत करार शिक्षक र कर्मचारीका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । गाउँ कार्यपालिकाको आयोजनामा गरिएको कार्यशालामा पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, २,३र४ नम्बरका वडाध्यक्षहरु, लेखा र शिक्षा शाखा प्रमुख, सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रध्यानाध्यापक, शिक्षक र कर्मचारीको सहभागीता थियो ।
सामाजिक सुरक्षाकोषका उप–कार्यकारी निर्देशक कृष्ण अधिकारी, समाजिक सुरक्षा कोष गण्डकी प्रदेश पोखराका कार्यालय प्रमुख रमेश ढुङ्गेल र बरिष्ठ सहायक लक्ष्मण अर्यालले सहजीकरण गरेका थिए । योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, २०७४ बमोजिम सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत औपचारीक, अनौपचारीक, स्वरोजगार र वैदेशिक रोजगारीलाई समेटने गर्दछ । सो अन्तर्गत फेदीखोलाले
अनौपचारीक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्धताको लागि २०७७ सालदेखि मजदुर संन्चित कोषको अवधारण ल्याएको थियो । उक्त कार्यक्रम कार्यान्वयन गरिरहेको पालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । संन्चित कोषमा आवद्ध मजदुर तथा श्रमिकलाई २०८० असार २७ गते सामाजिक सुरक्षा कोषसँग द्धिपक्षिय सम्झौता गरी सामाजिक सुरक्षा कोषमा आवद्धता गराएको थियो । यो देशकै पहिलो स्थानीय तहको रुपमा पहलकदमी तथा श्रमिकको हितमा उदारहणीय तथा नमुनायोग्य कार्य गरेबापत सम्मानितसमेत भएको छ ।
गाउँपालिका अन्तरगत औपचारीक रुपमा कार्यारत करार तथा ज्यालादारीको रुपमा काम गर्ने कर्मचारी र सामुदायिक विद्यालयका करार शिक्षक र कर्मचारीका लागि गाउँपालिकाले यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने नीति बमोजिम बजेट बिनियोजन गरेको छ । यस आर्थिक वर्षको साउनदेखि नै कार्यक्रम कार्यान्वयन गर्ने योजनासहित सामाजिक सुरक्षाकोष शुरु गर्नुको कारण, आवद्धताका फाईदा र दिर्घकालिन लाभको सम्बन्धमा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम राखिएको अध्यक्ष सुवेदीले बताए ।
कार्यक्रम कार्यान्वयनपश्चात करार कर्मचारीको तलब स्केलको ६० प्रतिशतले हुन आउने रकमलाई शत प्रतिशत मानी उक्त रकमको २० प्रतिशत रकम गाउँपलिकाले व्यहोर्ने र ११ प्रतिशत रकम सम्बन्धित कर्मचारीको तलबबाट व्यहोरिने गरी जम्मा मासिक ६० प्रतिशतले हुन आउने तलबमानको ३१ प्रतिशत रकम जम्मा हुनेछ ।
उक्त कोषमा आवद्धता कर्मचारीले औषधी उपचार, स्वास्थ्य र मातृत्व सुरक्षा सुविधा, दुर्घटना तथा अशक्तता सुरक्षा सुविधा, आश्रित परिवार सुरक्षा योजना र वृध्द्धवस्था सुरक्षा गरी ४ प्रकारका सुविधा पाउनेछन् ।
गाउँपालिका अध्यक्ष सुवेदीले समाजको बौद्धिक वर्ग तथा अस्थायी वा करारका कर्मचारीको भिन्नता तथा मनोबलमा एकरुपता ल्याई कार्यसम्पादनलाई उत्कृष्ट बनाउने शैक्षिक गुणस्तर बढाउने, शिक्षकको जिन्दगीको आवाज सुन्दर भविष्य बनाउनको लागि एउटा आन्दोलनको सुरु भएको बताए । ‘राष्ट्रिय बहसको सुरुवात फेदीखोला गाउँपालिकाले गरेको छ’ उनले भने, ‘देश संघीयताको मोडलमा गएपछिको संघीयताको उपज समाजवाद उन्मुख अवधारणालाई फेदीखोला स्थानिय सरकारले अपनत्व गर्दै समृद्ध नेपाल बनाउनको लागि स्थानिय सरकारकोतर्फबाट अघि बढेका छौ ।’
कार्यक्रममा सहभागीले पालिकाको गतिविधिसंग एक्याबद्धता जनाएका थिए । गाउँपालिका कार्यालयमा कार्यरत ५५ जना करार तथा ज्यालादारीमा कर्मचारी र सामुदायिक विद्यालयबाट १५० शिक्षक तथा कर्मचारी लाभान्वित हुनुछन् । फेदीखोला गाउँपालिकामा भएका विकास निर्माण, स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्रका हरेक गतिविधिमा गाउँपालिका देशकै नमुना बनेको वडाध्यक्षहरुको भनाई थियो । ‘पालिकाले लिएका नीतिगत व्यवस्था राष्ट्रिय नीतिमा समावेश भएको र पालिकाभित्र विकासका कार्यक्रम तिब्र रुपमा छन्’ पालिकाका प्रवक्तासमेत रहेको वडा नम्बर दुईका वडाध्यक्ष अभिलाश गुरुङले बताए ।
