प्रतीक्षा काफ्ले – पोखरा
बिहान उज्यालो हुनुअघि नै महिलाको दिन सुरु हुन्छ ।
चुलो, भान्सा, बालबच्चा, परिवार, घर, यी सबै काम ‘काम’ होइनन् जस्तो गरी सकिन्छ ।
बिहान घरको चुल्हो बालेर, दिउँसो मेला-महोत्सवको भीडमा स्वर मिसाएर अनि रात परेपछि दोहोरी साँझमा गीत गाउँदै जीवन धानिरहेकी छन्, कमला गैह्रे । लोक तथा दोहोरी गीतकी कलाकार कमलाको दिनचर्या गीत-संगीतजत्तिकै संघर्षले भरिएको छ ।
घरायसी काम कमलाको पहिलो जिम्मेवारी हो । भाँडा माझ्ने, खाना पकाउने, घर सम्हाल्ने काम सकिएपछि मात्रै उनी कलाकार बन्छिन् । “घरको काम नगरी बाहिर निस्कन सकिँदैन,” उनी भन्छिन्, “कलाकार हुनुअघि म एक महिला हुँ, घरको सदस्य हुँ ।”
स्याङ्जाकाे वालिङ नगरपालिका-७ क्वरेभन्ज्याङ्ग जन्मिएकी कमला स्नातकसम्म पढेकी हुन् । गाउँकाे सामान्य परिवारमा जन्मिएकी उनी ११ कक्षा पढ्दाबाटै दाेहाेरी क्षेत्रमा लागिन् । दाेहाेरी नै उनकाे मुख्य आम्दानीकाे स्राेत हाे । उनी अहिले पाेखरामा रहेर दिउँसो मेला-महाेत्सव र बेलुका दाेहारी साँझमा स्वर दिइरहेकी हुन्छिन् ।
दिउँसो मेला-महोत्सवमा गीत गाउँदा ताली र मुस्कान पाउँछिन् । तर, त्यो तालीभित्र उनको जीवन धान्ने संघर्ष कमैले देख्छन् । साँझ पर्न नपाउँदै उनी दोहोरी साँझतिर लाग्छिन् । रातको समय गीत गाएर कमाएको पैसाले घरको खर्च चल्छ, कहिलेकाहीँ त बिहानको चिया पनि त्यही पैसाले किनिन्छ ।
“गीत गाएर पेट पाल्न सजिलो छैन,” कमला खुल्छिन्, “तर यही स्वरले मलाई आत्मसम्मान दिएको छ । थकाइ लाग्छ, तर, स्टेज चढेपछि सबै बिर्सिन्छु ।”
तर जब उनी बाहिर निस्कन्छिन्, त्यही पसिना ‘श्रम’ बन्छ।
यही दोहोरो यथार्थ बाँचिरहेकी छन्, कलाकार कमला गैह्रे ।
कमलाको जीवन केवल कला र अभिनयको कथा होइन, यो नेपाली महिलाले सदियौँदेखि बोकेको अदृश्य श्रमको कथा हो । घरभित्र उनले गरेको कामको कुनै तलब छैन, कुनै बिदा छैन, कुनै कदर छैन् । तर बाहिर काम नगरेसम्म उनलाई ‘आर्थिक रूपमा सक्रिय’ मानिँदैन ।
“घरको काम महिलाले नै गर्नुपर्छ भन्ने सोच यति गहिरो छ कि त्यसलाई काम नै मानिँदैन,” कमला भन्छिन्,
“दिनभर घरमा खटिएपछि बाहिर गएर फेरि काम गर्नुपर्छ । कहिलेकाहीँ लाग्छ-महिला थाक्न पाउँदिनन् जस्तो ।”
कलाक्षेत्रमा सक्रिय कमलाले यही पीडालाई आफ्ना भूमिकाहरू, अभिव्यक्ति र आवाजमार्फत उठाउँदै आएकी छन् । उनी भन्छिन्, महिलाले घरभित्र गरेको श्रम देखिँदैन, तर त्यसैको जगमा परिवार, समाज र देश चलेको छ ।
नेपालमा महिलाले घरभित्र गर्ने श्रम अझै पनि औपचारिक रूपमा गणना हुँदैन । तथ्यांक अनुसार महिलाहरू पुरुषभन्दा दोब्बर समय घरायसी काममा खर्च गर्छन्, तर त्यो श्रमलाई आर्थिक मूल्य दिइँदैन । कमलाको जीवन यही यथार्थको एउटा सजीव उदाहरण हो-घरभित्र नदेखिने श्रम र बाहिर देखिने संघर्षको संगम ।
लोक तथा दोहोरी गीत क्षेत्र पनि महिलाका लागि सजिलो छैन । राति काम गर्नु, सामाजिक दृष्टि, सुरक्षाको चिन्ता—यी सबैबीच पनि कमला जस्ता कलाकारहरू आफ्नो स्वर नथामेर अघि बढिरहेका छन् ।
“म छोरीहरूलाई भन्न चाहन्छु,” कमलाको स्वर अलि कडा हुन्छ, “काम सानो–ठूलो हुँदैन् । चाहे घरमा होस् वा स्टेजमा, आफ्नो श्रमलाई माया गर्नुपर्छ ।”
कमला गैह्रे कुनै ठूलो मञ्चकी चर्चित कलाकार नहुन सक्छिन्, तर उनको जीवनले एउटा ठूलो कथा भन्छ- महिला श्रमको, आत्मनिर्भरताको र गीतसँगै बाँच्ने साहसको ।
अध्ययनहरूले देखाउँछन्—नेपालसहित दक्षिण एसियाली मुलुकहरूमा महिलाले पुरुषभन्दा धेरै समय अवैतनिक घरेलु श्रममा खर्च गर्छन् । खाना पकाउने, सरसफाइ, बालबालिका तथा ज्येष्ठ नागरिकको हेरचाहजस्ता काम अर्थतन्त्रमा प्रत्यक्ष देखिँदैनन्, तर यही श्रम बिना औपचारिक अर्थतन्त्र चल्नै सक्दैन । तर राज्यको नीति, तथ्यांक र बजेटमा यो श्रम प्रायः हराइदिन्छ ।
“गीत गाउनु मेरो बाध्यता मात्रै होइन,” उनी भन्छिन्,
“यो मेरो पहिचान हो । म घरमा श्रमिक हुँ, स्टेजमा कलाकार ।”
कमला गैह्रेको कथा कुनै एक महिलाको मात्र होइन । यो ती हजारौँ महिलाको कथा हो, जसले दिनभर घर सम्हाल्छन् र रातभर सपना गाइरहन्छन् ।
जहाँ गीत केवल मनोरञ्जन होइन-जीवन धान्ने साहस हो ।
लोक तथा दोहोरी गीत क्षेत्र महिलाका लागि अझै चुनौतीपूर्ण छ । कमला गैह्रे कुनै एक व्यक्तिको कथा मात्र होइनन् ।
उनी नेपालका ती हजारौँ महिलाको प्रतिनिधि स्वर हुन्,
जसले दिनभर अदृश्य श्रम गर्छन् र रातभर दृश्य संघर्ष ।
जहाँ गीत मनोरञ्जन मात्रै होइन, जीवन चलाउने साधन हो ।
“घरको कामको हिसाब राखिएको भए महिलाको योगदान अकल्पनीय हुन्थ्यो,” कमला भन्छिन् । “तर समाजले अझै पनि महिलाको श्रमलाई ‘कर्तव्य’ र पुरुषको श्रमलाई ‘काम’ भन्छ ।”
कमलाका अनुसार महिलामाथि थोपरिएको दोहोरो जिम्मेवारी-घरभित्र अवैतनिक श्रम र बाहिर जीविकोपार्जनको दबाबले उनीहरूको स्वास्थ्य, सपना र आत्मसम्मानमा गहिरो असर पारेको छ ।
विशेषज्ञहरू भन्छन्, घरायसी श्रमलाई श्रमको रूपमा मान्यता नदिँदा महिलाको आर्थिक हैसियत कमजोर देखिन्छ, जसले रोजगारी, तलब, सामाजिक सुरक्षा र नीति निर्माणमा असमानता थप्छ ।
कमला गैह्रे यही असमानताको विरुद्ध आफ्नो कलालाई हतियार बनाइरहेकी छिन् । उनी भन्छिन्, परिवर्तन भाषणले मात्रै होइन, सोचले सुरु हुन्छ ।
“घरभित्रको कामलाई सम्मान गर्न सकेनौँ भने महिलालाई सशक्त बनाएको कुरा खोक्रो हुन्छ,” उनी भन्छिन् ।
हुमन राइट्स फिल्म सेन्टरका अनुसार वैदेशिक रोजगारी पूर्णरुपमा जोखिम रहेको छ । हुमन राइट्स फिल्म सेन्टरका अध्यक्ष पाण्डक केसीले दिएको तथ्यांक अनुसार एशिया प्रशान्त क्षेत्रमा ४९ प्रतिशत महिला घरबाहिर जान पाएका छैनन् । घरको काममा महिला संख्या अत्याधिक रहेको उनले बताए ।
‘घरको काम भन्नेवित्तिकै महिलाको दायित्व जस्तो सम्झिइन्छ’ उनले थपे, ‘वैदेशिक रोजगारमा जाने महिला पनि घरायसी कामकै लागि श्रम गर्छन् । जसले महिला असुरक्षित हुने गरेका छन् ।’ महिला गृहिणी नभई गृह व्यवस्थापक रहेको बताउँछन् अभियान्ता विष्णु खत्री । उनले विदेशमा महिलाले इलिगलरुपमा काम गर्न बाध्य रहेको सुनाए । फिल्म सेन्टरले जीडिपीमा समेट्ने गरी केयर वर्कमा बढी कस्ता व्यक्ति संलग्न छन् भन्ने परिवारको डेटा संकलन गर्ने तयारी रहेको खत्रीले बताए ।



4 Responses
So nice . Brave kamala sis
Start profiting from your traffic—sign up today!
घरभित्रको अदृश्य श्रम र बाहिरको देखिने संघर्षलाई यति सशक्त रूपमा उजागर गरेको यो लेख अत्यन्तै मन छुने छ। कमला गैह्रेको जीवन कथाले धेरै महिलाको मौन संघर्षलाई आवाज दिएको छ। यस्तो यथार्थ लेखनका लागि हार्दिक सम्मान र शुभकामना। 🙏”
Promote, refer, earn—join our affiliate program now!