नेपाल प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेको छ । प्रहरीले प्रसाईंलाई केही बेरअघि काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरेको हो ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्षसमेत रहेका प्रसाइँ वीरगन्जको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा पक्राउ परेका प्रहरी स्रोतले जनाएको छ ।
यही माघ ५ गते पनि प्रहरीले पोखराबाट उनलाई पक्राउ गरेको थियो । पक्राउ गरेको भोलिपल्टै उनी हाजिरी जमानीमा रिहा भएका थिए ।
राजावादी अभियन्ता प्रसाईंले विभिन्न माग राखेर २१ फागुनको निर्वाचन बहिष्कार गर्ने चेतावनी दिँदै आएका छन् । उनको समूह र सरकारबीच यही माघ २ गते निर्वाचन विराेधी गतिविधि नगर्ने सहमति भएको थियो ।
सिंहदरबारमा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै महाभियानले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएको थियो ।