पोखरा महानगरले राजमार्ग र सडक छेउछाउमा संचालित कवाडी संकलन केन्द्र, वर्कसप, कारवास तथा ग्रिल उद्योग हटाउन निर्देशन दिएको छ । महानगरले सूचना जारी गर्दै ३५ दिनभित्र हटाउन अल्टिमेटम दिएको हो ।
महानगरपालिकाले पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र पोखरा–बागलुङ राजमार्गका तोकिएका खण्डका साथै नगर क्षेत्रका प्रमुख सडकको दायाँबायाँका सटर तथा खाली जमिनमा संचालन भएका ती व्यवसाय हटाउन भनेको छ । विशेषगरी पृथ्वी राजमार्गको कोत्रेदेखि सेतीपुलसम्म, सिद्धार्थ राजमार्गको छोरेपाटनदेखि पृथ्वीचोकसम्म र पोखरा बागलुङ राजमार्गको जिरोकिमीदेखि फेदीसम्मको क्षेत्रमा रहेका यस्ता व्यवसायलाई तत्काल अन्यत्र सार्न निर्देशन दिइएको छ ।
यस्ता प्रकृतिका उद्यम तथा व्यवसायले सहरी सौन्दर्यमा खलल पुर्याएको र वातावरणीय स्वच्छता कायम गर्नसमेत प्रतिकूल प्रभाव पारेकाले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र व्यवस्थापन गर्न आग्रह गरिएको हो ।
महानगरपालिकाको अनुरोधलाई अटेर गरी तोकिएका क्षेत्रमा निषेध गरिएका व्यवसाय संचालन गरेको वा सडकपेटीमा सामग्री राखेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी सूचनामा दिइएको छ ।



