ऐतिहासिक परिवर्तनको रक्षा र सहकार्यमा खनाल–श्रेष्ठको जोड

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबीच डल्लुस्थित झलनाथ निवासमा भेटवार्ता सम्पन्न भएको छ।

झन्डै डेढ घण्टा चलेको भेटघाटमा समग्र विश्व परिस्थिति, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन, विश्व समाजवादी आन्दोलन तथा आजको सन्दर्भमा वर्ग बनोट र वर्ग संघर्षका विभिन्न रूपहरूबारे व्यापक छलफल भएको थियो । साथै नेपालको वर्तमान राष्ट्रिय अवस्था, कम्युनिस्ट तथा वामपन्थी शक्तिहरू, देशभक्त राजनीतिक शक्ति र अन्य राजनीतिक पक्षहरूको विश्लेषण गर्दै क्रान्तिकारीहरूको राष्ट्रिय कार्यभारमा समेत गम्भीर विमर्श गरिएको थियो ।

श्रेष्ठले आफ्नो पार्टी स्थायी कमिटीको हालैको एकता प्रस्तावबारे जानकारी गराउँदै सहकार्यको अपिल गरेका थिए। झलनाथ खनालले पनि कम्युनिस्ट र वामपन्थी पार्टीहरूको एकता र सहकार्यमा आफू पनि सकारात्मक रहेको स्पष्ट पारेका छन् ।

भेटवार्तामा नेपालमा भैरहेको ऐतिहासिक राजनीतिक परिवर्तनको संरक्षण गर्दै समृद्ध नेपाल निर्माण र वैज्ञानिक समाजवादको स्थापना दिशातर्फ अघि बढ्न कम्युनिस्ट, वामपन्थी र देशभक्त शक्तिहरूबीच सहकार्य र एकताको आवश्यकता माथि विशेष जोड दिइएको छ । यस क्रममा सच्चा लोकतन्त्रवादी शक्तिहरूलाई पनि साथ लिएर अगाडि बढ्नु आवश्यक रहेको विषयमा गम्भीर छलफल भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *