मतपत्र १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो

फागुन २१ मा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि मतपत्र १६५ क्षेत्रमा नै पुगिसकेका छन् । मतपत्रसँगै आवश्यक सबै निर्वाचन सामग्री सम्बन्धित स्थानमा पुगिसकेको आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदानस्थल केन्द्रित काममा निर्वाचन अधिकृतहरू खटिएको जानकारी दिए ।

फागुन १८ भित्र सबै मतदान केन्द्रमा निर्वाचन अधिकृतसहितका कर्मचारी पुगिसक्नुपर्नेछ । सेतो कागजमा कालो रङमा निर्वाचन चिह्न भएको समानुपातिक मतपत्र छापिएको छ । मतपत्रमा ५८ वटा दलको निर्वाचन चिह्न छ ।

समानुपातिकतर्फ २ करोड ८ लाख प्रति मतपत्र छापिएको छ । देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता छन् । त्यस्तै, १ सय ६५ निर्वाचन क्षेत्रमा गरी प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ उम्मेदवार छन् । निर्वाचन क्षेत्रअनुसार घटीमा ५ देखि ४५ जनासम्म उम्मेदवार छन् ।

मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा र मुगुका मतपत्र हेलिकोप्टरबाट पु¥याइएको छ । अन्यत्र भने स्थल मार्गबाटै मत पत्र पठाइएको आयोगले जनाएको छ । देशभर १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र कायम गरिएको छ । २०७९ को निर्वाचनका बेलाभन्दा यस पटक ७५ मतदानस्थल तथा ८ सय ८५ मतदान केन्द्र बढाइएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *