नवलपुरको मध्यविन्दु नगरपालिका–१ पातावारीकी अनिसा पौडेल सामान्य परिवारकी एक किशोरी हुन् । तर उनको सोच र यात्राले उनलाई असामान्य बनाइरहेको छ । अध्ययनसँगै समाजका किशोरी र बालबालिकालाई सचेत, आत्मविश्वासी र सशक्त बनाउने अभियानमा उनी सक्रियतापूर्वक लागेकी छन् । आफ्नै सिकाइलाई समाज परिवर्तनको साधन बनाउने लक्ष्यका साथ अघि बढेकी अनिसा अहिले स्थानीय तहमा किशोरी सशक्तीकरण अभियानकी एक सक्रिय अभियन्ताका रूपमा परिचित हुँदै गएकी छन् ।
हाल कुमारवर्ती बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत अनिसा विगत केही समयदेखि किशोरी सशक्तीकरण कार्यक्रमअन्तर्गत ‘साथी शिक्षक’का रूपमा आबद्ध छन् । यस कार्यक्रममार्फत उनले विभिन्न तालिम र अभिमुखीकरणमा सहभागी हुँदै आफूले ज्ञान र सीप आर्जन गर्नुका साथै अन्य किशोरीमाझ ज्ञान बाँड्ने काम गरेकी छन् ।
कार्यक्रममार्फत उनले महिनावारी स्वच्छता तथा पुनः प्रयोग गर्न मिल्ने घरायसी स्यानिटरी प्याड बनाउने तरिका, डिजिटल सुरक्षा, राम्रो र नराम्रो छुवाइ, द्वन्द्व तथा हिंसा न्यूनीकरण, लागुऔषध दुव्र्यसन नियन्त्रण, नेतृत्व विकास, बाल विवाह रोकथाम, बाल अधिकार र किशोरी अधिकार जस्ता विषयमा तालिम लिने र दिने अवसर गर्दै आएको उनले सुनाइन् । उनका अनुसार यी सबै तालिमको मूल उद्देश्य किशोरीलाई आत्मविश्वासी, सचेत र आत्मनिर्भर बनाउनु हो ।
‘आज पनि धेरै किशोरी महिनावारी, हिंसा र आफ्ना अधिकारका विषयमा खुलेर बोल्न सक्दैनन्’ अनिसा भन्छिन, ‘धेरैले लाज, डर र सामाजिक दबाबका कारण आफ्ना समस्या लुकाएर बस्नुपरेको अवस्था छ । यस्तो अवस्थामा किशोरी सशक्तीकरण कार्यक्रमले हामीलाई आफ्नो आवाज उठाउन, गलतको विरोध गर्न र सही निर्णय लिन सिकाएको छ ।’
उनका अनुसार आत्मरक्षा केवल शारीरिक शक्तिसँग मात्र सम्बन्धित विषय होइन् । आत्मरक्षा भनेको आफूलाई सुरक्षित राख्ने चेतना, आत्मविश्वास र सही निर्णय गर्ने क्षमता पनि हो । यही सोचका साथ उनले आफ्नो समुदायमा किशोरीलाई सचेत बनाउने अभियानलाई निरन्तरता दिँदै आएकी छन् । अनिसालाई यो अवसर जागृति बाल तथा युवा सरोकार नेपालले दिएको हो ।
कार्यक्रममा आबद्ध भएपछि अनिसाले आफ्नै विद्यालय, वडा र समुदायका बालबालिका तथा किशोरीहरूसँग विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गरिरहेकी छन्। उनले आफूले सिकेका विषयहरू समूहगत छलफल, अभिमुखीकरण र सचेतनामूलक कार्यक्रममार्फत अरूलाई सिकाउँदै आएकी छन्।
पहिले–पहिले विद्यालयमा महिनावारी भएको बेला धेरै किशोरी स्यानिटरी प्याड माग्न लजाउने र डराउने गरेको अनुभव उनीसँग छ । ‘कतिपय त महिनावारीका कारण विद्यालय नै आउँदैनथे’ उनले भनिन, ‘आफूले हिंसा वा दुव्र्यवहार भोग्दा पनि बेइज्जत हुन्छ कि भन्ने डरले धेरै किशोरी चुप लागेर बस्थे । तर अहिले यस्ता सोचमा विस्तारै परिवर्तन आउन थालेको छ । खुशी लाग्छ आफ्नो अधिकार खोजेको देख्दा ।’
किशोरीको समूहले निरन्तर सचेतना कार्यक्रम चलाएपछि अहिले किशोरी आफ्ना समस्या खुलेर भन्न थालेका छन् । महिनावारीका विषयमा खुलेर कुरा गर्ने वातावरण बनेको छ । विद्यालयमा स्यानिटरी प्याड माग्न पनि उनीहरूलाई पहिले जस्तो लाज लाग्दैन ।
किशोरीहरूको हकअधिकारका विषयलाई स्थानीय तहसम्म पु¥याउन पनि अनिसा सक्रिय छन् । उनले गण्डकी प्रदेशका मुख्यमन्त्री, मध्यविन्दु नगरपालिकाका नगरप्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरूसमक्ष बालबालिका र किशोरीका लागि आवश्यक बजेट छुट्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाउने अभियानमा पनि सहभागिता जनाएकी छन् । उनका अनुसार यसले स्थानीय सरकारको ध्यान बालबालिका र किशोरीका मुद्दातर्फ केन्द्रित गर्न सहयोग पुगेको छ ।
यस कार्यक्रममार्फत उनले स्थानीय तह मात्र होइन, प्रदेश र राष्ट्रिय स्तरसम्म पुगेर बालबालिका तथा किशोरीका समस्या उठाउने अवसर पनि पाएकी छन् । विभिन्न अन्तरक्रिया, छलफल र कार्यक्रममा सहभागी हुँदै उनले आफ्नो अनुभव र सिकाइ अरूसँग साझा गर्ने अवसर पाएको बताउँछिन् । अहिले उनी आफ्नै वडामा सीमित नभई अन्य वडा तथा पालिकामा समेत पुगेर किशोरीलाई सचेत बनाउने काममा सकृय छन् । नयाँ ठाउँमा पुगेर आफ्ना अनुभव सुनाउँदा र अन्य किशोरीको समस्या सुन्दा आफूलाई अझ जिम्मेवार महसुस हुने उनी बताउँछिन् ।
अनिसाका अनुसार किशोरी सशक्तीकरण कार्यक्रममा आबद्ध भएपछि उनको व्यक्तिगत सोचमा मात्र होइन, परिवार र समाजमा पनि सकारात्मक परिवर्तन आएको छ । पहिले लाज र संकोचका कारण खुल्न नसक्ने विषयमा अहिले उनी खुलेर बोल्न सक्ने भएकी छन् । परिवारले पनि उनको कामलाई प्रोत्साहन गर्दै आएको छ । ‘पहिले म आफैं धेरै कुरा बोल्न डराउँथे’ उनी सम्झिन्छिन्न्, ‘तर अहिले आफूले सिकेको कुरा अरूलाई सिकाउँदा आत्मविश्वास झन् बढेको छ ।’
समाजमा अझै पनि किशोरीका समस्या र अधिकारका विषयलाई पर्याप्त रूपमा प्राथमिकता नदिइएको उनको बुझाइ छ । त्यसैले आगामी दिनमा पनि किशोरीको शिक्षा, स्वास्थ्य, सुरक्षा र अधिकारका लागि निरन्तर काम गर्ने उनको अठोट छ । अनिसा भन्छिन्, ‘समाज परिवर्तन एकैपटक सम्भव हुँदैन् । तर सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ । यदि किशोरी सचेत र आत्मविश्वासी भए भने समाज स्वतः परिवर्तनतर्फ अघि बढ्छ ।’
सामान्य परिवारकी एक किशोरीले आफ्नै सिकाइ र अनुभवलाई समाज परिवर्तनको अभियानमा रूपान्तरण गर्ने प्रयासले अहिले धेरैलाई प्रेरित गरिरहेको छ । अनिसाको यात्रा अझै सुरुवाती चरणमै भए पनि उनले देखाएको उत्साह, प्रतिबद्धता र सामाजिक उत्तरदायित्वले भविष्यमा अझ ठूलो परिवर्तनको सम्भावना देखाउँछ । जागृति बाल तथा युवा सरोकार नेपालले नवलपुर जिल्लालाई केन्द्रीत गर्दै बालबालिका र किशोरीको क्षेत्रमा काम गर्दै आएको छ । यहाँका किशोरी स्वास्थ्य सम्बन्धि खुलेर बोल्न, मौलिक अधिकार खोज्न सक्ने भएका छन् । आफूले सिकेपछि यही संस्थामा जागिर गर्दै भावी पुस्तालाई पनि अधिकारबारे सिकाउन प्रशिक्षकको भूमिका निभाउदै आएको संस्थाका अध्यक्ष तिलोतम पौडेलले बताए ।


