स्याङ्जाको फेदीखाेला गाउँपालिका-१ मा सञ्चालित अमाेर सेवा नेपाल बालगृहमा सामूहिक रूपमा ब्रतबन्ध कार्यक्रम सम्पन्न गरिएको छ । बालगृहमा रहेका २१ जना छाेराहरूकाे सामूहिक ब्रतबन्ध गरिएकाे हाे । हिन्दु संस्कारअनुसार एकैपटक ब्रतबन्ध गराइएको बालगृह संस्थाका अध्यक्ष कमला पराजुलीले बताईन् । २२ जना छाेरामध्ये एक जनाकाे पहिले नै ब्रतबन्ध गरिएकाे भएकाले २१ जनाकाे मात्रै ब्रतबन्ध गराइएकाे उनले बताईन् ।
कार्यक्रममा वैदिक विधिअनुसार पूजा-पाठ, मन्त्रोच्चारण तथा यज्ञ सञ्चालन गरिएको थियो । ब्रतबन्धमा बालकहरूले परम्परागत पहिरन (पहेलाे बस्त्र)मा सजिएर विधिपूर्वक जनै धारण गरेका थिए ।
उक्त अवसरमा स्थानीय अभिभावक, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले बालबालिकाहरूको उज्ज्वल भविष्यको कामना गर्दै यस्तो कार्यक्रमले संस्कार संरक्षणमा टेवा पुग्ने बताएका थिए ।
बालगृहकाका व्यवस्थापक अशाेक शर्माले सामूहिक रूपमा ब्रतबन्ध गराउँदा आर्थिक भार कम हुनुका साथै बालबालिकामा समानताको भावना विकास हुने बताएका छन् । साथै, यसले समाजमा रहेका अभिभावकविहीन बालबालिकालाई पनि संस्कारमा जोड्ने उद्देश्य पूरा भएको उनले उल्लेख गरे । बालगृहमा ४६ जना बालबालिका छन् ।
स्याङ्जा बालगृहमा सामूहिक ब्रतबन्ध