मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल पोखरा–१४ चाउथे बस्दै आएका २४ वर्षीय राधेश्याम शाह र बाग्लुङको काठेखोला गाउँपालिका–४ घर भई हाल पोखरा–१ बगर बस्ने २८ वर्षीय खेमु थापा रहेका छन् ।
उनीहरूविरुद्ध जिल्ला अदालत कास्कीमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ । अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चैत १ गते साँझ पोखरा महानगरपालिका–८ जाल्पा रोडस्थित विभिन्न खाजाघरहरूमा होहल्ला तथा अनैतिक गतिविधि भइरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट संयुक्त टोली खटिएको थियो ।
अनुसन्धानका क्रममा आर्थिक अवस्था कमजोर भएका महिलालाई विभिन्न प्रलोभन देखाई खान, बस्नको सुविधा र आकर्षक तलबको आश्वासनमा होटलमा काम दिलाइदिने भन्दै बोलाउने गरिएको खुलेको छ । सुरुमा होटलमै काममा लगाइए पनि पछि ती महिलालाई होटलमा आउने ग्राहकसँग जबरजस्ती रात बिताउन र अनैतिक कार्यमा संलग्न गराउने गरिएको प्रहरीले जनाएको छ।
उक्त स्थानबाट प्रहरीले चार जना महिलाको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।


