मन्त्रीको सूची बनाउँदै रवि र बालेन, शपथ चैत १३ मै

Share this post :

Facebook
Twitter
WhatsApp

रास्वपाका वरिष्ठ उपाध्यक्ष बालेन शाहलाई प्रधानमन्त्रीकोरुपमा अघि सारिएको छ । १३ चैतमा बालेनलाई प्रधानमन्त्री र अन्य केही नेतालाई मन्त्रीको शपथ एकै समारोहमा गराउने तयारी रास्वपाको छ । त्यसका लागि रास्वपा सभापति रवि लामिछाने र शाहबीच मन्त्री बन्ने नेताको सूची तयार पार्न निरन्तर छलफल चलिरहेको छ । दुवै नेताले छलफलमा आवश्यकताअनुसार अन्य शीर्ष नेता र सम्भावित मन्त्रीलाई बोलाएर कुराकानीसमेत गरिरहेका छन् ।

एक शीर्ष नेताका अनुसार प्रधानमन्त्री शाहसँगै शपथ लिने मन्त्रीको सूचीमा अर्थमन्त्रीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनाल निश्चित जस्तै छन् । सुनील लम्सालले समेत मन्त्रीको शपथ लिने पक्का भए पनि कुन मन्त्रालय भन्ने टुंगो लागेको छैन । भावी प्रम शाहनिकट भएकाले लम्साललाई गृह मन्त्रालय दिन सकिने चर्चा पनि चलेको छ ।

शाह पक्षका एक नेताका अनुसार मन्त्रिपरिषद्मा कम्तीमा तीन महिला मन्त्री हुनेछन् । ‘१३ जना प्रत्यक्षबाट नै निर्वाचित भएर आउनुभएको छ भने ४८ जना समानुपातिकबाट सांसद बन्नुभएको छ, ३–४ जना महिला मन्त्री बन्ने पक्का छ, कसलाई बनाउने भन्नेबारे परामर्श जारी छ,’ उनले भने ।

मन्त्री चयनका लागि हुने छलफलमा सहभागी अर्का एक नेताका अनुसार महिलाबाट सोबिता गौतम र इन्दिरा रानालाई मन्त्री बनाउनेबारे छलफल चलिरहेको छ । सम्भावित व्यक्तिको पृष्ठभूमिसँगै योग्यता र क्षमताबारे अध्ययन भइरहेको स्र्रोतले जनाएको छ ।

मन्त्रालयको संख्या १५ देखि १८ राख्ने र बढीमा १५ जनालाई मन्त्री बनाउने तयारी भइरहेको रास्वपा नेता बताउँछन् । आवश्यकता र क्षमता हेरेर एक जनालाई दुईवटासम्म मन्त्रालयको जिम्मेवारी दिने विषयमा समेत नेताहरूबीच परामर्श भइरहेको छ । उपप्रधानमन्त्री राख्ने कि नराख्ने भन्ने विषयमा छलफल भएको तर निर्णय भइनसकेको छलफलमा सहभागी अर्का एक नेताले बताए ।

सभापति लामिछाने, वरिष्ठ नेता शाहसँगै उपसभापतिद्वय डीपी अर्याल र वाग्लेबीच ५ चैतमा रोयल सिंगे होटलमा भएको बैठकमा मन्त्रीहरूको सूचीबारे प्रारम्भिक छलफल भएको थियो । त्यसयता लामिछाने र शाहबीच छलफल जारी छ ।

रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले मन्त्रीहरूका विषयमा छलफल जारी रहे पनि निष्कर्षमा पुगिनसकेको बताए । रास्वपा प्रवक्ता मनीष झाले प्रधानमन्त्रीसँगै सबै मन्त्रीले शपथ लिने र तत्कालै काममा लाग्ने गरी छलफल चलिरहेको बताए ।

लामिछाने र शाहबीच सरकारका सुरुवाती प्राथमिकता र निर्वाचनअघि पार्टीले जनतामाझ वाचापत्रमा प्रस्तुत गरेका योजना कार्यान्वयनका बारेमा पनि छलफल भइरहेको छ । सुशासनका लागि चाल्नुपर्ने कदम, मन्त्रालयमा गर्नुपर्ने सुधारलगायतका विषयमा गृहकार्य भइरहेको छ ।

यसअघिको सरकारका पालामा राजनीतिक नियुक्ति लिएकालाई नयाँ जनादेशसहित आएको सरकारलाई काम गर्न सहज गर्ने उद्देश्यले सहज रूपमा मार्गप्रशस्त गरिदिन पनि रास्वपा नेताहरूको आग्रह छ । रास्वपा प्रवक्ता झाले योग्य व्यक्तिलाई काममा लगाउने र क्षमता नभएकालाई पदबाट हट्न भनिने बताए ।

कार्यकर्तालाई जागिर दिनका लागि गरिएका नियुक्ति खारेज गर्ने र पार्टीले ती पदमा आफ्ना मान्छे नल्याउने, ल्याउनुपरेमा प्रतिस्पर्धा गराएर पदपूर्ति गर्ने झाको भनाइ छ ।

सुशासनका विषयमा मिहिन ढंगले कदम चाल्ने तयारी भइरहेको र त्यसका लागि के कति काम कसरी गर्ने भन्नेबारे भावी प्रधानमन्त्री शाहको टिमले अहिलेदेखि नै काम गरिरहेको रास्वपाका एक नेताले बताए ।

रास्वपाले संसदीय दलको नेता चयन गर्ने सम्बन्धमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ । १२ चैतमा सांसदले शपथ लिएपछि रास्वपाको केन्द्रीय समिति बैठक बस्नेछ । रास्वपा सहप्रवक्ता प्रतिभा रावलका अनुसार संसदीय दलको नेता र विविध विषयमा छलफल गर्न १२ चैत साँझ ४ बजे बैठक बोलाइएको हो ।

रास्वपाले वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउन संसदीय दलको नेतामा चयन गर्दैछ । प्रतिनिधिसभामा रास्वपाको एकल बहुमत छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका मात्र १ सय ८२ सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *