गण्डकी प्रदेशमा विकास खर्चको अवस्था दयनीय देखिएको छ । चालु आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी रहँदा जम्मा ३३ प्रतिशत बजेट खर्च भएको छ भने स्वास्थ्य क्षेत्रमा बिरामीले डायलसिसका लागि दुई वर्षसम्म पालो कुर्नुपर्ने बाध्यता छ ।
सोमबारको प्रदेश सभा बैठकमा शून्य र विशेष समयमा बोल्दै सांसदहरूले सरकारको अकर्मण्यता र हालैको निर्वाचनमा पुराना दलहरूले व्यहोर्नुपरेको लज्जास्पद हारका विषयमा गम्भीर समीक्षा गरे ।
निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय र डिजिटल अल्गोरिदमको बढ्दो प्रभावकाबीच पुराना दलका नेताहरूले आफूहरू सत्तावादी र गुटवादी भएको स्वीकार गरेका छन् । बैठकको शून्य समयमा बोल्दै सांसद कुसुम बुढाले स्वास्थ्य क्षेत्रमा चरम लापरबाही भएको जानकारी दिइन् ।
स्वास्थ्य जस्तो क्षेत्रमा प्रदेश सरकारको चासो कमजोर भएको उनले सुनाइन् । उनले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डायलसिसका लागि १ सय ७४ जनाले दुई वर्षदेखि कुरिरहेको तथ्यांक सार्वजनिक गरिन् । यस्तै उनले बागलुङको धौलागिरी प्रादेशिक अस्पतामाल १४ जना पर्खेर बस्नुपरेको सुनाइन् ।
‘२०८२ जेठका बिरामीले बल्ल पालो पाइरहेका छन्, सरकारले यस्तो संवेदनशील विषयमा टालटुले जवाफ होइन, नतिजा दिनुपर्छ,’ उनले भनिन् ।
गण्डकी प्रदेश सभाको सोमबारको बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले प्रदेशको स्वास्थ्य अवस्था नाजुक रहेको र विकासका योजनाहरू अलपत्र परेको भन्दै सरकारको कडा आलोचना गरे ।
विशेष गरी मृगौला रोगीहरूले उपचार नपाएर मृत्युको मुखमा पुग्नुपरेको तथ्य सदनमा उठ्यो । ‘झन्डै दुई वर्षदेखि डायलिसिसको पर्खाइमा १७४ जना बिरामी गण्डकी अस्पतालमा छन् भने बागलुङको धौलागिरी अस्पतालमा १४ जना पालो कुरिरहेका छन्,’ उनले भनिन् ।


