चालु आर्थिक वर्षका योजना किन अलपत्र परे ? बजेट किन ढिलो आयो ? जनतालाई छिटो, छरितो दिइने सेवामा कुनै कानून बाधक बनेकी ? स्थानीय तह किन कार्यान्वयनमा कमजोर देखिए ? कर्मचारीका समस्या, सामाजिक तथा भौतिक विकासमा राजनीतिक हस्तक्षेत्र छ की छैन् ? यी प्रश्नहरूको जवाफ खोज्दै उनी स्याङ्जाका स्थानीय तह र सरकारी कार्यालय पुगिरहेका छन् । उनको यो दौडधूप केवल औपचारिक भ्रमण होइन, आगामी बजेट, विकास योजना र सम्भावित नीतिगत सुधारको आधार तयार गर्ने प्रयास हो ।
निर्वाचनले स्याङ्जामा एउटा नयाँ राजनीतिक सन्देश दियो । २०६४ को निर्वाचनमा देशभरी तत्कालीन माओवादीले जित्दा स्याङ्जामा भने पराजय व्यहोर्नुपर्यो । तर, यसपटक परम्परागत शक्तिहरूको विकल्प खोज्दै स्याङ्जाली मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा.धनञ्जय रेग्मीलाई निर्वाचित गरे ।
दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जाले पहिलोपटक मनसँगै मत परिवर्तन गर्यो । रास्वपा दुई वटै सिट जित्न सफल भयो । क्षेत्र नम्बर दुईका विजेता झविलाल डुम्रे उद्यमी हुन भने रेग्मी पर्यटन विज्ञ हुन । ‘पर्यटन क्षेत्रमा विज्ञका रूपमा पहिचान बनाएका रेग्मी अब संघीय सरकार गठनको पूर्वसन्ध्यामा सम्भावित पर्यटन मन्त्रीका रूपमा चर्चामा छन्’ रास्वपा नेता बोधराज रेग्मी भन्छन, ‘उहाँ केवल पदको प्रतीक्षामा होइन, स्याङ्जाका गाउँ–गाउँ पुगेर स्थानीय आवाज सुन्दै, नीति र योजना बनाउने तयारीमा सक्रिय हुनुहुन्छ ।’
स्थानीय तहको ढोकामा संघीय सांसद
निर्वाचन जितेपछि धेरै नेताहरू काठमाडौं केन्द्रित हुने चलन छ । तर डा.रेग्मी भने स्याङ्जाका पालिका, वडा कार्यालय र सरकारी निकायमै पुगेर सुझाव संकलन गरिरहेका छन् । निर्वाचन जितेपछि यसरी सुझाव संकलन गर्दै हिड्ने पहिलो सांसद उनै रहेको कर्मचारीहरु स्वंम बताउँछन् । ‘अहिलेसम्म कुनै पनि सांसद समस्या के छन् भनेर बुझ्न आएनन’ पुतलीबजार नगरपालिकाका एक कर्मचारीले भने, ‘मैले जानेदेखि पहिलोपटक हो यसरी समस्या बुझ्न सांसद आएको ।’ उनले चालु आर्थिक वर्षमा बजेट कार्यान्वयनमा देखिएका समस्याबारे सुझाएको बताए । सांसद रेग्मीसँग स्थानीय जनप्रतिनिधि, कर्मचारी र नागरिक समाजका प्रतिनिधिले एउटै कुरा दोहोर्याए, ‘योजना धेरै छन्, कार्यान्वयन कमजोर छ ।’
विभिन्न पालिका र सरकारी कार्यालय पुगेपछि सडक, खानेपानी, कृषि र पर्यटन पूर्वाधारमा बजेट विनियोजन भए पनि धेरै योजना कागजमै सीमित रहेको पाइएको छ ।
ढिलो बजेट निकासा– (आर्थिक वर्षको आधा समय बितिसक्दा मात्र रकम आउँदा काम गर्न समय अभाव), प्राविधिक जनशक्तिको कमी– ( इन्जिनियर र प्राविधिक कर्मचारी नहुँदा योजना ढिलाई), केन्द्र–प्रदेश–स्थानीय सरकारबीच समन्वय अभाव– (एउटै योजनामा तीन तहबीच अस्पष्ट जिम्मेवारी), ठेक्का प्रक्रिया जटिलता– (सार्वजनिक खरिद ऐनका कारण ढिलाइ र विवाद) जस्ता समस्या भेटिएको सांसद रेग्मीले बताए । ‘यी समस्या केवल स्याङ्जाका मात्र होइनन, देशव्यापी संरचनात्मक चुनौतीका रूपमा देखिन्छन’ उनले भने ।
समस्या समाधानका लागि पहिलो त्रैमासमै बजेट निकासा सुनिश्चित गर्ने, बहुवर्षीय योजनालाई निरन्तरता दिने, स्थानीय तहमा प्राविधिक कर्मचारी स्थायी रूपमा नियुक्त गर्ने, प्रदेशस्तरमा प्राविधिक पूल बनाउने, तीन तहबीच नियमित समन्वय बैठक अनिवार्य गर्ने, योजना दोहोरोपन हटाउने डिजिटल प्रणाली विकास गर्ने, पर्यटनलाई आर्थिक इन्जिन बनाउने, होमस्टे प्रवद्र्धन, धार्मिक तथा सांस्कृतिक मार्ग विकास, साहसिक पर्यटन (हाइकिङ, प्याराग्लाइडिङ) विस्तार गर्नुपर्ने विषयलाई सुझाव संकलनमा समेटिएको छ ।
नीति सुधारमा पर्यटन ऐन अद्यावधिक, डिजिटल प्रवद्र्धनमा अन्तर्राष्ट्रिय बजारमा नेपाल ब्रान्डिङ, पूर्वाधार विकासमा सडक, विमानस्थल, ट्रेकिङ मार्ग सुधार, स्थानीय सहभागितामा समुदायमा आधारित पर्यटन सम्बोधन हुनुपर्ने स्याङ्जाबासीको सुझाव छ । ‘स्याङ्जाका मतदाताले परम्परागत दलभन्दा फरक विकल्प रोजेकाले अपेक्षा पनि फरक छ’ पुतलीबजार नगरपालिका–४ का कमल सुनार भन्छन, ‘छिटो काम, पारदर्शिता र परिणाम ।’
फेदीखोला गाउँपालिका–१ की अमृता गुरुङले जनताले सरकारी कार्यालयबाट पाउने सेवा–सुविधा छिटो, छरितो हो भनेरै नयाँ शक्तिको खोजी गरिएको बताइन् । ‘हामीलाई ठूला अपेक्षा छैनन्’ उनले भनिन, ‘नागरिकता बनाउन जाँदा महिनौसम्म जिल्ला प्रशासन धाउन नपरोस् । जनताले पाउने सेवा समयमै सहजरुपमै होस भन्ने छ ।’ उनका अनुसार डा.धनञ्जय रेग्मीका लागि अबको बाटो स्पष्ट छ, सुन्ने मात्र होइन, कार्यान्वयन गर्ने । स्याङ्जाका लागि आशा पनि त्यही हो । कागजमा होइन, जमिनमा देखिने विकास होस् ।
जनताका समस्या बुझ्न सांसद रेग्मीको सचिवालयमा विभिन्न जिम्मेवारी तोकियो