उद्घाटनबाट हिरासतसम्म: एउटै भवन, फरक भूमिका

[post-views]

Share this post :

Facebook
Twitter
WhatsApp

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले एक वर्षअघि जिल्ला प्रहरी परिसर काठमाडौंकाे भवन उद्घाटन गरेका थिए ।

वि.सं. २०८१ साल भदौ १० गते ओली र लेखकले संयुक्त रूपमा उक्त प्रहरी परिसर भवन उद्घाटन गरेका हुन् । तर, अहिले भने दुवै नेता सोही परिसरको हिरासतमा राखिएका छन्, जसले राजनीतिक रूपमा चासो र चर्चा बढाएको छ ।

जेन-जी आन्दोलनका क्रममा भएको हिंसा तथा हताहत घटनाको छानबिनपछि दुवै नेतालाई शनिबार बिहान पक्राउ गरिएको हो । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगको सिफारिस कार्यान्वयन गर्दै कारबाही अघि बढाएको जनाएको छ । जेन्जी आन्दोलनकाे बेला ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री थिए ।

यसैबीच, पक्राउपछि स्वास्थ्य परीक्षणका क्रममा पूर्वप्रधानमन्त्री ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ । दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीमा ‘मल्टिपल हेल्थ इश्यू’ देखिन सक्ने जोखिमका कारण उनलाई अस्पतालको ५०१ नम्बर बेडमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।

प्रारम्भिक स्वास्थ्य परीक्षणमा उनलाई छाती दुख्ने (चेस्ट पेन) र मुटुको धड्कन (पाल्पिटेशन) सम्बन्धी समस्या देखिएको छ । हाल उनलाई इसीजी मनिटरमा राखी मुटुको चालको निगरानी भइरहेको छ भने मिर्गौला सम्बन्धी चिकित्सकको टोलीले समेत स्वास्थ्य अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ ।

प्रहरीले ओलीलाई अदालतमा म्याद थपका लागि आइतबार मात्र उपस्थित गराउने तयारी गरेको छ । त्यसअघि उनलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राख्ने तयारी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *