करिव १० करोडको लागतमा नेपाल प्र्रहरीले पोखरामा पेट्रोल पम्प संचालनमा ल्याएको छ । पोखरा महानगरपालिका–७ शहिद चोकस्थित नेपाल प्रहरी कल्याण कोषको प्रहरी कल्याण कोषको ९ करोड ९६ लाख ६५ हजार रुपैयाँ लागतमा यो पेट्रोल पम्प निर्माण गरिएको हो । नेपाल प्रहरी प्रदेश कार्यालयको हाताभित्र मंगलबारदेखि पेट्रोल पम्प संचालनमा आएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
डीएसपी प्रकाश सापकोटाद्धारा जारी विज्ञप्तिमा पेट्रोल पम्पबाट २४ घण्टा नै डिजेल र पेट्रोल बिक्री–वितरण हुने बताइएको छ । पम्पको निर्माण कार्य एक वर्षअघि नै सुरु भएको थियो । बीचमा अदालतमा रिट परेरपछि तीन महिना निर्माण कार्य रोकिएको थियो ।
जिल्ला प्रशासन कार्यालयसहित सरकारी कार्यालय भएको क्षेत्रमा पेट्रोलियम पदार्थको बिक्री हुँदा भवितव्य हुन सक्ने भन्दै गत वर्ष असोजमा निर्माण कार्य रोक्न माग गरेर उच्च अदालत पोखरामा रिट परेको थियो । अदालतले गत वर्ष पुसमा उक्त रिट खारेज गरेपछि निर्माण कार्य अघि बढेको थियो ।
यो पेट्रोल पम्प संचालनमा आएसँगै अब राष्ट्र बैंक चोक, रत्नचोक, ड्यामसाइड, लेकसाइड, मासबार क्षेत्रका बासिन्दालाई धेरै सहज हुनेछ । यस क्षेत्रका बासिन्दा सवारीमा इन्धन भर्न बिरौटा, शान्तिनगर वा पृथ्वीचोक जानुपर्ने बाध्यता थियो । यसो त पोखराका पम्पहरु रातको समयमा बन्द हुने हुँदा पर्यटकीय नगरीमा पर्यटकले सास्ती झेल्दै आएका थिए भने, अवैधरुपमा महंगो इन्धन किन्न बाध्य थिए ।