एसियाली विकास बैंक (एडीबी)ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।
एडीबीले शुक्रबार आफ्नो आर्थिक प्रकाशन ‘एसियाली विकास परिदृश्य’ सार्वजनिक गर्दै वर्ष २०२६ मा मुद्रास्फीति दर करिब ३.७ प्रतिशत रहने, विप्रेषण आप्रवाह तथा निर्यातको वृद्धिदरमा कमी आउने, चालु बचत खाता कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५.३ प्रतिशतमा सीमित हुने अनुमान गरेको हो ।
अघिल्लो आर्थिक वर्ष २०२५ मा ४.६ प्रतिशतको आर्थिक वृद्धि अनुमान गरेको थियो । गत भदौको जेन-जी विद्रोह र पश्चिम एसियाको द्वन्द्वका कारण यसवर्ष अर्थतन्त्र सुस्त हुने एडीबीको निष्कर्ष छ ।
राजनीतिक स्थिरता कायम रहे र पश्चिम एसियाको द्वन्द्व मत्थर भए आगामी आर्थिक वर्ष २०२७ को आर्थिक वृद्धिदर भने पुनः ५ प्रतिशत पुग्ने एडीबीको अपेक्षा छ । सरकारले अघि सारेको १०० बुँदे सुधारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएमा निजी क्षेत्रको मनोबल बढ्ने एडीबीले उल्लेख गरेको छ । तथापि पुँजीगत खर्चको स्थिति कमजोर रहनु र जलवायु परिवर्तनका जोखिमहरू नेपालको आर्थिक परिदृश्यका लागि सधैं चुनौतीका रूपमा रहेको एडीबीले औंल्याएको छ ।


