राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो साढे ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय गरिएको छ ।
पार्टी सभापति रवि लामिछानेले आह्वान गरेको उक्त बैठकमा संगठनात्मक तथा संरचनागत विषयमा केन्द्रित विभिन्न एजेन्डामाथि छलफल हुने जनाइएको छ ।
बैठकका मुख्य एजेन्डामा जिल्ला अधिवेशन कार्यविधि–२०८३, बैंक खाता सञ्चालन सम्बन्धी व्यवस्था, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्च र विभिन्न विभागहरूको मनोनयन रहेका छन् ।
त्यसैगरी महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, विज्ञ तथा परियोजनाका लागि आह्वान, साथै प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट लगायत विषयमा पनि छलफल हुने बताइएको छ ।
पार्टीका अनुसार बैठकमा आगामी महाधिवेशनको तयारी, केन्द्रीय समिति बैठकको पूर्वतयारी, संसदीय दलका लागि प्राविधिक सहयोग तथा लेबी व्यवस्थापन सम्बन्धी विषयहरूमा समेत निर्णय हुन सक्नेछ ।
रास्वपाले संगठन विस्तार र आन्तरिक संरचना सुदृढ गर्ने लक्ष्यसहित सचिवालय बैठकलाई महत्वपूर्ण रूपमा लिएको जनाएको छ ।




