पूर्व-पश्चिम जोड्ने महत्वपूर्ण बीपी राजमार्ग फेरि अवरुद्ध भएकाे छ । गएराति परेको वर्षापछि रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको कटुञ्जेदेखि मङ्गलटार, घुमाउनेलगायत क्षेत्रका अस्थायी डाइभर्सन बगाएपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार विभिन्न स्थानका डाइभर्सन बग्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प बनेको हो । अहिले सडक मर्मत नगरेसम्म यातायात सञ्चालन सम्भव नहुने बताइएको छ।
राजमार्ग अवरुद्ध भएपछि धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोक क्षेत्रमा सवारीसाधन ‘होल्ड’ गरिएको छ भने सयौँ यात्रु बीच बाटोमै रोकिएका छन् ।
प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र अत्यावश्यक बाहेक उक्त मार्ग प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। वर्षा निरन्तर भइरहेकाले सडक खुलाउन केही समय लाग्ने अनुमान गरिएको छ ।
उक्त क्षेत्रमा गत वर्षको बाढीपहिरोपछि स्थायी सडक क्षतिग्रस्त भएकाले हाल अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको थियो, जसले गर्दा वर्षा हुँदा बारम्बार अवरोध हुने समस्या दोहोरिँदै आएको छ ।




