गण्डकी प्रदेशको राजधानी पोखरामा ‘नयाँ सोच निर्माण समूह’का सदस्यको तीनदिने भेला सम्पन्न भएको छ । बैसाख ११ गतेदेखि सुरु भई आज बैसाख १३ गते सम्पन्न उक्त भेलाले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।
नेपाल प्रशंसनीय दृष्टिकोण राष्ट्रिय सञ्जालका अध्यक्ष रामबहादुर राउत र सचिवालय सदस्य घनश्याम कोइरालाको समन्वय तथा सहजीकरणमा सम्पन्न भेलामा सहभागीले नेपाली समाजमा शान्ति, सद्भाव र सहिष्णुता प्रवर्द्धन गर्न सकारात्मक अभियान सञ्चालन गर्ने सङ्कल्प गरेका छन् ।
भेलाले विगतदेखि औपचारिक तथा अनौपचारिक रूपमा सञ्चालन हुँदै आएका सकारात्मक पहल, अभियान र अभ्यासलाई स्मरण गर्दै ती प्रयासलाई अझ व्यवस्थित, प्रभावकारी र दीर्घकालीन बनाउने प्रतिबद्धता जनाएको छ ।
त्यसैगरी, सन् २००४ मा स्थापना भई क्रियाशील रहेको नेपाल प्रशंसनीय दृष्टिकोण राष्ट्रिय सञ्जाल (नयन)लाई पुनःगठन गरी सक्रिय बनाउने निर्णय पनि भेलाले गरेको सदस्य अनिलकिशाेर घिमिरेले जानकारी दिए ।
भेलाले आगामी जेठ २२ र २३ गते चितवनमा नयनको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ भने उक्त राष्ट्रिय भेलाको संयोजकका रूपमा कपिल पोख्रेललाई चयन गरिएको छ ।भेलाले समाजमा सकारात्मक सोच र सहकार्यको वातावरण निर्माण गर्न साझा पहल आवश्यक रहेको निष्कर्षसमेत निकालेको छ ।