स्याङ्जाको कालीगण्डकी ए जलविद्युत केन्द्रले मर्मत सम्भार कार्यका लागि पावरहाउसका तीन वटा टर्बाइन बन्द गर्ने भएको छ ।
केन्द्रले जारी गरेको सूचनाअनुसार मिति २०८३ वैशाख २५ गते साँझ करिब ५ बजेदेखि बृहत् मर्मत सम्भार कार्य सुरु हुने भएकाले टर्बाइन बन्द गरिने जनाइएको छ । यस अवधिमा पावरहाउसतर्फ जाने पानी डाइभर्ट गरी ड्यामका सबै गेट खोलिने हुँदा कालीगण्डकी नदीमा पानीको सतह र बहाव बढ्न सक्ने चेतावनी दिइएको छ ।
सूचनामा नदी किनार तथा आसपास क्षेत्रमा रहेका निर्माण सामग्री लगायत अन्य वस्तु समयमै हटाउन तथा सर्वसाधारणलाई नदी किनारमा नजान आग्रह गरिएको छ ।
प्राधिकरणले मिति २०८३ वैशाख २९ गते बिहानबाट ड्यामका गेट पुनः बन्द गरिने केन्द्र प्रमुख आदेश पौड्यालले जानकारी दिए ।

