राष्ट्रिय क्रस–कन्ट्रीको छैटौँ संस्करण कोल्मामा

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको पुतलीबजार नगरपालिका–९ कोल्माको बराहचौरमा राष्ट्रिय क्रस–कन्ट्रीको छैटौँ संस्करण हुने भएको छ । पुषको दोस्रो साता हुने छैटौं संस्करणको क्रसकन्टी दौड प्रतियोगिताको तयारी तिव्र बनाइएको आयोजक संस्था सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले जनाएको छ ।
‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मुल नाराका साथ राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिएको हो । मञ्चका महासचिव जीवन पोखरेलले क्रस–कन्ट्रीमा विभिन्न ५ विधामा खेल आयोजना गरिने बताए । पोखरेलका अनुसार २१ वर्षमाथि पुरुषतर्फ २५ किलोमिटर, खुल्ला महिलातर्फ १० किमि, २१ वर्षमुनि पुरुषतर्फ १० किमि, विद्यार्थी समूह (छात्र र छात्रा) ५ किमि, रन फर फन (३० वर्ष माथिका महिला, लुङ्गी पोशाकमा) गरी विभिन्न चरणका खेल आयोजना गरिएको छ ।
२५ किलोमिटर दौड कोल्मा बराहचौरबाट सुरु भई सतिडाँडा–काउले–बहाकोट–नाम्चे–माथिल्लो काल्खु, तल्लो काल्खु, तनहुँ जिल्लाको खल्लुबोट–राइपुर विस्यौना, रामचौतारा–सिम्लेस्वाँरा, वडारे, गुदी–मड्किना, मड्किना–भन्ज्याङ्ग, केवरेपानी हुँदै सतिडाँडा आइपुग्दै पुन कोल्मा बराहचौर आइपुग्नुपर्ने हुन्छ ।
१० किलोमिटरतर्फ कोल्मा–काउले, ज्यामिरे, विरुवा–भैसेगौंडा र राङभाङ हुदै सोहि रुटबाट फर्किएर पुनः कोल्माडाडाँ आएर सकिने छ । छात्रछात्रा ५ किमितर्फ कोल्मा हुदै पोखरीछापा, राईपुर–बासपानी, रामचौतारा हुदै सोहि रुटबाट फर्किएर कोल्माडाडाँ आएर सकिने छ । प्रतियोगितामा २५ किलोमिटरतर्फ प्रथम हुनेले ५० हजार, द्धितिय हुनेले ४० हजार, तृतीय हुनेले ३० हजारसहित ट्रफी र मेडल पाउनेछन् ।
यसैगरी, १० किलोमिटरतर्फ प्रथम, द्धितिय र तृतीय हुनेले क्रमशः २०, १५ र १० हजार नगदसहित ट्रफी र मेडल पाउनेछन् । महिलातर्फको १० किलोमीटरतर्फ प्रथमले २०, द्धितियले १५ र तृतीयले १० हजार नगद पाउने छन् । विद्यार्थीतर्फ छात्रछात्रा दुबै समुहमा प्रथमले ८ हजार, द्धितीयले ५ हजार र तृतीयले ३ हजार नगदसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् । यसैगरी रन फर फनतर्फ प्रथमले ५, द्धितीयले ३ र तृतीयले २ हजार रुपैयाँ पाउने छन् ।
क्रस–कन्ट्री दौड प्रतियोगिता प्रत्येक वर्ष गरिदै आएको छ । २०७५ सालबाट सुरु भएको प्रतियोगिता २०७७ र ७८ सालमा कोडिभ–१९ का कारण स्थगित भएको थियो । प्रतियोगिताले सामाजिक सदभाव, मेलमिलाप विकास, होमस्टेको प्रचार भई पर्यटक आगमन बढेको मञ्चका महासचिव पोखरेल बताउँछन् । यस्तै राष्ट्रिय तथा स्थानीय कलाकारको पनि सांगितिक प्रस्तुती रहने आयोजक संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *