फेवाताल क्षेत्रभित्रका संरचना हटाउन पोखरा महानगरको सार्वजनिक सूचना

पोखरा महानगरपालिकाले फिर्केखोलादेखि फेवातालमा मिसिने क्षेत्रमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई सार्वजनिक सूचना जारी गरेको छ ।

महानगरपालिकाका अनुसार वडा नं. १८ को अँधेरीकुनादेखि वडा नं. २, ४, ५, ७, ८, १७ हुँदै वडा नं. ६ को गाईघाटसम्म फेवा किनार क्षेत्रभित्र पर्ने संरचना हटाउन निर्देशन दिइएको हो । महानगरले यसअघि प्राविधिक टोलीमार्फत स्थलगत नापजाँच गरी पोल गाडिएको सीमाभित्र बनेका संरचनाको विवरण संकलन गरेको जनाएको छ ।

यसअघि ३५ दिने सूचना जारी गरिएको भए पनि उक्त विषयमा उच्च अदालत पोखरामा मुद्दा दायर भएको थियो । अदालतले उत्प्रेषण तथा परमादेशको आदेश जारी नगर्ने फैसला गरेपछि महानगरले पुनः सूचना जारी गर्दै २०८३ जेठ ९ गतेभित्र सबै संरचना स्वयं हटाउन आग्रह गरेको हो ।

महानगरपालिकाले तोकिएको समयभित्र संरचना नहटाइए महानगर आफैंले हटाउने र त्यस क्रममा लागेको सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकीसरह असुलउपर गरिने चेतावनी दिएको छ ।

फेवाताल संरक्षण, अतिक्रमण नियन्त्रण तथा सार्वजनिक क्षेत्र व्यवस्थापनका लागि महानगरले अभियानलाई थप कडाइका साथ अघि बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *