राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन् । बहालवाला सभापति तथा सभापति पदका प्रत्याशी राजन गौतमलाई पराजित गर्दै त्रिपाठीले प्रदेश नेतृत्व आफ्नो पक्षमा पारेका हुन् ।
शुक्रबार राति सम्पन्न मतदानको मतगणना शनिबार बिहान सकिएको थियो। निर्वाचन परिणामअनुसार त्रिपाठीले २ सय ३४ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी राजन गौतमले १ सय ८२ मत प्राप्त गरे। सभापतिका अन्य उम्मेदवारमध्ये माधव कँडेलले ११ मत र हरिबहादुर कार्कीले २ मत मात्र प्राप्त गरेका छन् ।
रास्वपाको विधानअनुसार सभापतिमा निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्ने व्यवस्था छ। त्रिपाठीले पहिलो चरणमै आवश्यक मत प्राप्त गर्दै स्पष्ट जित निकालेका हुन् ।
प्रदेश कार्यसमिति सदस्यका लागि ५१ जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये विभिन्न क्लस्टरबाट ३३ जना निर्वाचित हुने व्यवस्था रहेको छ। क्षेत्रगत सदस्यतर्फ २८ उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए भने गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रबाट एक–एक जना प्रतिनिधि चयन गरिने व्यवस्था छ ।
समावेशी सदस्यतर्फ २३ जनाको उम्मेदवारी परेको थियो। समावेशी समूहबाट १५ जना निर्वाचित हुने भए पनि उनीहरूको विस्तृत परिणाम सार्वजनिक हुन बाँकी रहेको जनाइएको छ ।
यसअघि प्रदेश सदस्यका लागि १२ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्। क्षेत्रगततर्फ बागलुङ–१ बाट मिना शर्मा आचार्य, गोरखा–१ बाट मनोज गुरुङ, गोरखा–२ बाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की तथा तनहुँ–१ बाट सूर्यमणि पौडेल निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै समावेशी सदस्यतर्फ खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी (अनिशा) र राममाया बस्ताकोटी, मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा तथा अपाङ्गता भएका खसआर्य समूहबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित भएका छन् ।
गण्डकी प्रदेशको पहिलो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै प्रदेशमा रास्वपाको संगठन विस्तार, आन्तरिक व्यवस्थापन तथा आगामी राजनीतिक रणनीतिप्रति चासो बढेको छ ।