रास्वपा महाधिवेशनका लागि लाखौं खर्च, सुरक्षामा १,०८७ प्रहरी परिचालन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनलाई भव्य, व्यवस्थित र सुरक्षित बनाउन लाखौं रुपैयाँ खर्च हुने भएको छ। महाधिवेशनका लागि हल भाडामै करिब १३ लाख रुपैयाँ खर्च हुने भएको छ भने सुरक्षाका लागि १,०८७ जना नेपाल प्रहरी परिचालन गरिने भएका छन्।

चितवन उद्योग संघसँग भएको सम्झौताअनुसार रास्वपाले महाधिवेशनका लागि तीनवटा हल प्रयोग गर्नेछ। संघको नियमअनुसार प्रत्येक हलको दैनिक भाडा १ लाख ५० हजार रुपैयाँ रहेकाले तीनवटै हलको दैनिक शुल्क ४ लाख ५० हजार रुपैयाँ पुग्नेछ। तीन दिनको कार्यक्रम तथा अतिरिक्त आधा दिनको प्रयोगसमेत जोड्दा कुल भाडा झण्डै १३ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

महाधिवेशनको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै जिल्ला प्रहरी कार्यालय चितवनले १,०८७ जना प्रहरी परिचालन गर्ने योजना बनाएको छ। तीमध्ये १६५ जना ट्राफिक प्रहरी सवारी व्यवस्थापनका लागि विशेष रूपमा खटिनेछन् ।

हजारौं सहभागी र सवारीसाधनको चापलाई ध्यानमा राख्दै भरतपुरका विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ। बीरेन्द्र बहुमुखी क्याम्पस पछाडिको चौर र केन्द्रीय बसपार्कलाई मुख्य पार्किङ स्थलका रूपमा तोकिएको छ ।

रास्वपाका अनुसार बन्दसत्रमा ३,५०० देखि ४,००० प्रतिनिधि सहभागी हुनेछन् भने उद्घाटन सत्रमा ४० हजारभन्दा बढी समर्थक तथा शुभेच्छुकको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

हल व्यवस्थापनदेखि सुरक्षा घेरासम्मको तयारीले रास्वपाले आफ्नो पहिलो महाधिवेशनलाई संगठन विस्तार, नेतृत्व चयन तथा शक्ति प्रदर्शनको महत्वपूर्ण अवसरका रूपमा लिएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *