नेपाल एयरलाइन्सलाई सुरक्षित, भरपर्दो र पूर्ण व्यवसायिक बनाइने : प्रधानमन्त्री बालेन्द्र शाह

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई सुरक्षित, भरपर्दो र पूर्ण रूपमा व्यवसायिक संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित सरकारले सूक्ष्म अध्ययन र विश्लेषण गरिरहेको बताएका छन्।

निगमको ६८औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देशको प्रमुख ध्वजावाहक संस्थाका रूपमा नेपाल एयरलाइन्सले सेवा गुणस्तर सुधारमा अग्रणी भूमिका खेल्नुपर्ने बताएका हुन्।

उनले निगमको सुधारका लागि सबैभन्दा पहिले पदाधिकारी तथा कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिँदै आवश्यक नीतिगत व्यवस्था र स्रोत–साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

प्रधानमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा रूपान्तरण गर्दै व्यवस्थापन सुधार र उपयुक्त रणनीतिक साझेदारीको विकल्प खोज्ने व्यवस्था गरिएको स्मरण गराए। उक्त व्यवस्था कार्यान्वयनका लागि सरकारले आवश्यक प्रक्रिया छिट्टै अघि बढाउने पनि उनले जानकारी दिए।

साथै, निगमभित्र सुशासनसम्बन्धी उठिरहेका प्रश्नप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै सेवा सुधार, पारदर्शिता र प्रभावकारी व्यवस्थापनमार्फत नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी, विश्वासिलो र सक्षम संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता प्रधानमन्त्री शाहले व्यक्त गरेका छन्।

2 thoughts on “नेपाल एयरलाइन्सलाई सुरक्षित, भरपर्दो र पूर्ण व्यवसायिक बनाइने : प्रधानमन्त्री बालेन्द्र शाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *