राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले विभिन्न सार्वजनिक निकायमा गरेको पछिल्लो मनोनयनमाथि प्रश्न उठ्न थालेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत पशुपति, बौद्धनाथ, पाटन र हनुमानढोका लगायतका महत्वपूर्ण विकास कोष तथा समितिमा पदाधिकारी मनोनयन गरिएसँगै आफन्तवादको आरोप लागेको हो।
मन्त्रालयले बुधबार र बिहीबार गरी २४ जना पदाधिकारी मनोनयन गरेको सार्वजनिक सूचनामा उल्लेख छ। तीमध्ये प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनकी बहिनी सिद्धिलक्ष्मी व्यञ्जन्कारलाई नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्यमा मनोनीत गरिएको विषयले विशेष चर्चा पाएको छ।
उक्त समितिको अध्यक्षमा डा. पुरुषोत्तम भट्टराई नियुक्त भएका छन् भने सदस्यमा माधवप्रसाद लामिछाने, सिद्धिलक्ष्मी व्यञ्जन्कार, सूर्यप्रसाद ढुंगेल र नेत्रप्रसाद अधिकारी रहेका छन्।
निर्वाचनअघि ‘जान्नेलाई छान्ने’ र योग्यता तथा क्षमताका आधारमा नियुक्ति गर्ने प्रतिबद्धता जनाएको रास्वपाले सरकारमा पुगेपछि विभिन्न समिति, कोष र आयोगमा आफ्ना निकटस्थ तथा आफन्तलाई प्राथमिकता दिएको आरोप लाग्न थालेको छ। विशेषगरी प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग पारिवारिक सम्बन्ध भएकी व्यक्तिको मनोनयनलाई लिएर सरकारको सुशासन र पारदर्शितामाथि प्रश्न उठाइएको छ।
सरकारको निर्णयप्रति विभिन्न सरोकारवालाले योग्यता र अनुभवका आधारमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति नगरी निकटस्थ व्यक्तिलाई प्राथमिकता दिइएको भन्दै आलोचना गरेका छन्। यसले ‘जान्नेलाई छान्ने’ भन्ने नाराको कार्यान्वयनमाथि नै प्रश्नचिह्न खडा गरेको उनीहरूको भनाइ छ।
https://shorturl.fm/jCEh7
https://shorturl.fm/iucvI
https://shorturl.fm/rJmGQ