मन्त्रीको सट्टा सचिवालयका सचिव अमेरिका, मन्त्रालयका सचिवलाई किन गरिए बेवास्ता ?

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले संयुक्त राष्ट्रसंघीय बसोबास कार्यक्रम (युएन–हेबिट्याट) सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा मन्त्रालयका सचिवलाई नपठाई आफ्नै सचिवालयका सचिव सन्तोष पाण्डेलाई अमेरिका पठाएको विषय सार्वजनिक भएको छ।

असार ३१ देखि साउन २ गतेसम्म (जुलाई १५–१८) अमेरिकाको न्युयोर्कमा आयोजित उक्त कार्यक्रममा पाण्डे सहभागी भएर फर्किसकेका छन्। ‘सबैका लागि आवास’ तथा ‘पर्याप्त आवास’ विषयमा केन्द्रित कार्यक्रममा यसअघि भने सहरी विकासमन्त्री र मन्त्रालयका सचिव सहभागी हुने अभ्यास रहेको बताइएको छ।

यसअघि तत्कालीन सहरी विकासमन्त्री प्रकाशमान सिंह र मन्त्रालयका तत्कालीन सचिव मणिराम गेलाल इजिप्टमा आयोजित वर्ल्ड अर्बान फोरममा सहभागी भएका थिए। त्यस्तै पूर्वमन्त्री सीता गुरुङ, तत्कालीन सचिव रवीन्द्रनाथ श्रेष्ठ तथा पूर्वसचिव डा. रमेशसिंहले पनि यस्तै अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको प्रतिनिधित्व गरिसकेका छन्।

तर यसपटक मन्त्रालयका सचिव गोपाल सिग्देललाई सहभागी नगराई मन्त्रीको सचिवालयका सचिवलाई पठाइएपछि मन्त्रालयभित्र असन्तुष्टि बढेको स्रोतको दाबी छ।

मन्त्रालयका एक कर्मचारीका अनुसार यस्ता अन्तर्राष्ट्रिय कार्यक्रममा मन्त्रालयका उच्च प्रशासनिक अधिकारी सहभागी हुँदा प्राप्त अनुभव, ज्ञान र अन्तर्राष्ट्रिय अभ्यास नीतिगत निर्णय तथा प्रशासनिक कार्यान्वयनमा उपयोगी हुने भएकाले सचिवलाई पठाउनु उपयुक्त हुने थियो।

यता, सचिवालयका सचिव सन्तोष पाण्डेले भने आफू मन्त्री सुनिल लम्सालको सिफारिसमा कार्यक्रममा सहभागी भएको बताएका छन्। मन्त्री कार्यव्यस्तताका कारण स्वयं उपस्थित हुन नसकेपछि आफ्नो नाम सिफारिस गरिएको उनको भनाइ छ।

पाण्डे असार दोस्रो सातामात्र मन्त्रीको सचिवालयमा सचिवसरहको पदमा नियुक्त भएका हुन्। हालै मन्त्रिपरिषद्ले पारित गरेको ‘मन्त्रीहरूको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि–२०८३’ अनुसार मन्त्रीहरूले आफ्नो सचिवालयमा विशिष्ट श्रेणी (सचिव) सरहका सल्लाहकार नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ।

यस घटनापछि मन्त्रालयभित्र सचिवको सट्टा सचिवालयका सचिवलाई अन्तर्राष्ट्रिय कार्यक्रममा पठाउने निर्णयको औचित्यमाथि प्रश्न उठ्न थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *