सुनसरीलगायतका जिल्लाको अवस्था सामान्य बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री वालेन्द्र शाह

प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायतका जिल्लामा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्दै नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भाव कायम गर्न सरकार निरन्तर तथा योजनाबद्ध रूपमा सक्रिय रहेको बताए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कताका साथ परिचालित भइसकेको जानकारी दिए । उनले नागरिकलाई अफवाहमा नलाग्न, संयमता अपनाउन र शान्ति कायम राख्न सहयोग गर्न आग्रह गरे ।

प्रधानमन्त्री शाहका अनुसार सरकारको पहिलो प्राथमिकता प्रभावित नागरिकसम्म तत्काल पुगेर उनीहरूको सुरक्षा सुनिश्चित गर्नु, आवश्यक सहयोग उपलब्ध गराउनु तथा घटनाको निष्पक्ष छानबिन गर्नु हो। शान्ति–सुरक्षाको अवस्था सुदृढ बनाउन र परिस्थितिलाई थप जटिल हुन नदिन सरकारले बहुआयामिक रणनीति अवलम्बन गरेको उनले बताए ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले सबै सांसदलाई आफ्ना निर्वाचन क्षेत्रमा तत्काल फर्किएर नागरिक र राज्यबीच विश्वासको सेतु बन्न आग्रह गरे । कठिन र आपत्कालीन अवस्थामा जनताको घरदैलोमै पुगेर उनीहरूको सुख–दुःखमा साथ दिनु जनप्रतिनिधिको प्रमुख जिम्मेवारी भएको उनको भनाइ थियो।

सांसदहरूले प्रधानमन्त्री शाहको आग्रहलाई सकारात्मक रूपमा ग्रहण गर्दै तत्काल आफ्नो निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, बिहीबार राष्ट्रका नाममा प्रधानमन्त्री शाहले गर्नुभएको सम्बोधनले देशभर, विशेषगरी प्रभावित क्षेत्रका नागरिकमा सकारात्मक सन्देश, विश्वास र भरोसा जगाएको उनीहरूको भनाइ थियो।

छलफलमा स्थानीय तहमा दीर्घकालीन शान्ति, सामाजिक सद्भाव र भ्रातृत्व कायम राख्न धार्मिक अगुवा, नागरिक समाज, बुद्धिजीवी तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग निरन्तर संवाद अघि बढाउनुपर्ने सुझाव दिइएको थियो। साथै, तनावग्रस्त तथा आसपासका क्षेत्रमा धार्मिक सहिष्णुता र सामाजिक एकता प्रवर्द्धन गर्ने सन्देश प्रभावकारी रूपमा प्रवाह गर्न तथा सामाजिक सञ्जालमा फैलिने भ्रम र अफवाहबाट विशेषगरी युवालाई जोगाउन जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *