लियो क्लब अफ पोखराले शनिबार आफ्नो ४७ औँ चार्टर डे तथा अवार्ड समारोह मनाएको छ । क्लबको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा केक काटेर वार्षिकोत्सवको उद्घाटन गरिएको थियो ।
लियो सविन पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा क्लबका नयाँ सदस्यलाई स्वागत गर्नुका साथै क्लबका गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका पुराना तथा क्रियाशील सदस्यलाई विभिन्न अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा लियो क्लब अफ पोखराका तर्फबाट वर्षभरि सञ्चालन गरिएका सामाजिक तथा सेवामूलक गतिविधिबारे लियो मनोज पोखरेलले जानकारी तथा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा क्लबको आगामी कार्ययोजना, सामाजिक सेवामा युवाको भूमिका तथा क्लबका गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा समेत चर्चा गरिएको थियो ।
लियो क्लब अफ पोखरा सन् १९७९ अगस्ट ८ मा चार्टर्ड भएको हो। क्लबको चार्टर डे हरेक वर्ष अगस्ट ८ मा मनाइँदै आएको छ। यस वर्षको ४७औँ चार्टर डे तथा अवार्ड समारोह पोखरास्थित ब्राउन आइज रिसेप्सन, बस्तोलथरमा आयोजना गरिएको हो।
कार्यक्रममा लियो क्लब तथा लायन्ससँग आबद्ध पदाधिकारी, सदस्य, पूर्वसदस्य तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।